काठमाडौं । आज रामनवमी देशभर मनाइँदै छ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै छ । अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका पुत्रका रुपमा श्री रामचन्द्रको चैत्र शुक्ल नवमीको दिन जन्म भएको थियो । वैदिक सनातन धर्म मान्ने समाजमा राम नवमीको स्थान महत्वपूर्ण छ । राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ । नेपालमा रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामको पूजा आराधना गरी मनाइँदै छ । रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । भनिन्छ, गोस्वामी तुलसीदासले रामचरितमानसको रचना आरम्भ पनि यसै दिन गरेका थिए । त्रेता युगमा मर्यादा पुरुषोत्तमका रूपमा सुपरिचित राम सूर्यवंशी राजा दशरथले गरेको पुत्रेष्टि यज्ञको प्रसादस्वरूप दशरथकी जेठी रानी कौशल्यावतीको गर्भबाट जन्मिएका हुन् । रामले मिथिलाका राजा जनकको प्रतिज्ञाअनुसार शिवधनु भाँचेर सीतालाई पत्नी रूपमा प्राप्त गरे । सीतालाई हिन्दूहरू लक्ष्मीको साक्षात् रूप मान्छन् भने रामलाई क्षितिपालक भुषण परमात्मा स्वरूप मान्दछन् । रामको जीवनकाल र पराक्रम महर्षिवाल्मीकिद्वारा रचित संस्कृत महाकाव्य रामायणमा वणिर्त छ । तुलसीदासले पनि भक्ति काव्यका रूपमा श्री रामचरितमानसको रचना गरेका थिए । नेपालमा पनि आदिकवि भानुभक्त रामायणकै कारण ख्यातिप्राप्त छन् । राम उत्तर भारत र नेपालमा धेरै पूजनीय छन् । उनी हिन्दूहृदय सम्राट् तथा आदर्श पुरुष हुन् । आज सरकारले सार्वजनिक विदा दिएको छ ।
।