सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्र बैंकको पूर्वाधार विकास बैंक खोल्न सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिले पूर्वाधार विकास बैंक स्थापनाका लागि सैद्धान्तिक सहमति दिएको छ । उक्त जानकारी सहायक प्रवक्ता राजेन्द्र पण्डितले दिए ।
केन्द्रिय बैंकले ३० दिन भित्र कुल चुक्ता पुँजीको ४५ प्रतिशत रकम जम्मा गर्न भनेको छ । सरकारको ९० करोड रुपैंयाँ सहित निजी क्षेत्रका लगानीकर्ताहरुले ५ अर्ब ४० करोड रुपैंयाँ बुझाउने पूर्वाधार विकास बैंक स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले बताए ।
लगानी कर्ताहरुले विभिन्न बाणिज्य बैंकमा एक अर्ब ननाघ्ने गरि ५ अर्ब ४० करोड रुपैंयाँ जम्मा गरेर नेपाल राष्ट्र बैंकलाई एयरमार्क गर्नुपर्नेछ । त्यसपछि केन्द्रिय बैंकले पूर्वाधार विकास बैंकका लागि आसय पत्र९एलओआई० प्रदान गर्नेछ । एलओआई प्राप्त गरेको ६ महिनाभित्र कम्पनी दर्ता, कर्मचारी, बैंकको आन्तरिक पूर्वाधार निर्माण लगायतका सम्पूर्ण काम सम्पन्न गरेपछि केन्द्रिय बैंकले सेवा सञ्चालनको लाइसेन्स दिनेछ ।

पूर्वाधार विकास बैकमा सरकारको २ अर्ब लगानी रहनेछ भने ५ वटा बाणिज्य बैंक, १० वटा इन्स्योरेन्स कम्पनी सहित ४१ जनाको लगानी रहनेछ । बैकमा इमर्जिङ नेपालको २५ करोड लगानी रहनेछ ।
एनआएसी एसिया, प्रभु, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई र सिद्धार्थ बैंकको लगानी छ भने १० वटा इन्स्योरेन्स कम्पनी प्रुडेन्सियल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, एनबी इ्न्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लगानी रहेको छ । त्यसबाहेक इमर्जिङ नेपाल, हाथवे लगायत इन्भेष्टमेन्ट कम्पनी तथा प्राइभेट कम्पनीहरुले पनि लगानी रहने छ ।
व्यक्तिगत तर्फ भने चन्द्रप्रसाद ढकाल, हेमराज ढकाल, आकाश गोल्छा, हेमन्त गोल्छा, शशिकान्त अग्रवाल, बोधप्रसाद त्रिपाठी, प्रकाश मुन्दडा, सुशील गुप्ता लगायत ४१ जनाले संस्थापक सेयर लिने भएका छन् ।
प्रस्तावित पुर्वाधार विकास बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ रहेको छ । बैंकमा सरकारकोे १० प्रतिशतसहित संस्थापक समूहमा ६० प्रतिशत र सर्व–साधारण समूहमा ४० प्रतिशत शेयर रहने प्रस्ताव गरिएको छ । संस्थापक समूहको १२ अर्ब र सर्वसाधारण समूहको ८ अर्ब रुपैयाँ सेयर पुँजी हुने प्रस्ताव गरिएको छ ।
इस्फ्रास्ट्रक्चर बैंकले देशको पूर्वाधार विकास सम्बन्धी आयोजनामा कर्जा प्रवाह, कम्पनीहरुको धितोपत्रमा लगानी, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालनको लागि प्रतितपत्र खोल्ने तथा जमानतपत्रहरु जारी गर्ने, राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी स्रोत परिचालन गर्ने, लिजिङ्ग कारोबार गर्नेछ ।
साथै, नेपाल सरकारलाई पुर्वाधार विकास सम्बन्धी आवश्यक सल्लाह प्रदान तथा पुर्वाधार विकास सम्बन्धी आवश्यक जनशक्ति तयार गर्ने लगायतका काम बैंकले गर्ने इमर्जिङ नेपालका सिइओ आत्रेयले बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार १५:३६