सूचनाको शक्ति - The Power Of Information

        

जीडीपीमा पर्यटनको योगदान २५ प्रतिशतमा पुर्याउने कार्ययोजना बनाइँदै

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउने कार्ययोजना बनाउँदै गरेको बताएका छन् । हाल भएको साढे तीन प्रतिशतको योगदानलाई मन्त्री अधिकारीले २५ प्रतिशतको योगदान पु¥याउने महत्वकांक्षी कार्ययोजना तयार पारिरहेको बताएका हुन् ।
अबको एक वर्ष्भित्रमा पर्यटनमा सबैले केही न केही नयाँ परिवर्तनको महशुस गर्नु हुने उनले बताए । मन्त्रालयले २०२० मा १५ लाख पर्यटक नेपाल भित्र्याउने कार्यक्रम अघि सारेको बताउँदै उनले भने, ‘हामी पर्यटनबाट जीडीपीमा अहिले भइरहेको योगदानलाई सात गुणाले बढ्ने गरी कार्ययोजना बनाउँदै छु, यो छिट्टै सार्वजनिक गर्नेछु ।’
उनका अनुसार पर्यटन क्षेत्रको विकास लागि सरकारले पूर्वाधार विकासमा विशेष ध्यान दिनेछ भने बाँकी निजी क्षेत्रको सहयोगमा पर्यटनको दिगो विकासको कार्ययोजना अगाडि बढ्ने छन् । पर्यटन विश्वविद्यालयको स्थापनादेखि आगामी दिनमा गुणस्तरीय पर्यटक भित्र्याउन मार्गमा सरकार अगाडि बढेको बताए ।

मन्त्रीले कार्ययोजना मागेपछि…
आर्थिक समृद्धिमार्फत् देशलाई समृद्ध बनाउने सपना बोकेर आएका बाम गठबन्धनका नयाँ मन्त्रीहरूले सबै सरकारी निकायसँग कार्ययोजना मागेपछि अहिले कर्मचारीलाई भ्याइनभ्याइ छ । मन्त्रीले एक सय दिनमा के गर्ने, ६ महिना, एक वर्ष, दुई वर्ष र पाँच वर्षमा गर्ने काम र यसबाट हुने उपलब्धि तत्काल सम्बन्धित मन्त्रालयको सचिवालयमा पठाउन आदेश आएपछि कर्मचारीलाई कार्ययोजना बनाउन भ्याइनभ्याइ नपरेको हो । मन्त्री सचिवालयले कार्ययोजनाको फर्म नै तयार गरेर यो प्रक्रिया अघि बढाएको हो । कतिपय मन्त्रीले हिजो बिहीबार नै कार्ययोजना मागे पनि कतिपयले आजसम्म समय सीमा दिएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीले कार्ययोजना बनाउनका लागि बिहीबारसम्म समय दिएका थिए । अन्य सबै मन्त्रालयले मातहतका कार्यालयलाई यो उर्दी पठाएका छन् । मन्त्रीहरूको यो हतारो तत्कालै सार्वजनिक हुने संघारमा पुगेको सरकारको श्वेतपत्र र बन्दै गरेको बजेटका लागि भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जानकारी दिएको छ । श्वेतपत्रले वर्तमान आर्थिक अवस्था र देशको आगामी गन्तव्यका विषयमा छलङ्ग पार्ने छ । कार्ययोजना बजेट निर्माणका लागि पनि उत्तिकै लाभदायी हुनेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार ०९:२२