सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली प्रदेशबाट गैरसरकारी संस्था आउट गरिँदै, फेसबुकमा प्रतिबन्ध

कर्णाली प्रदेशमा २०७५ बैशाखदेखि सुरु हुने ‘रारा कर्णाली पर्यटन वर्ष’को बारेमा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत मन्त्रीहरु ।

कर्णाली प्रदेशमा २०७५ बैशाखदेखि सुरु हुने ‘रारा कर्णाली पर्यटन वर्ष’को बारेमा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत मन्त्रीहरु ।


काठमाडौं । कर्णाली प्रदेश पछि पर्नुमा आत्मनिर्भरताको पनि कमी भनेर विगतदेखि नै औंल्याउँदै आइएको हो । अहिले सोही कुरालाई अन्तिम निष्कर्ष मान्दै कर्णाली प्रदेशले परनिर्भरतालाई अन्त्य गर्ने बाटो लिएको छ । एनजीओ तथा आइएनजीओले जनतालाई स्वरोजगार र आत्मनिर्भरभन्दा पनि परनिर्भरता बढाएको भन्दै प्रदेश सरकारले अब त्यस्ता संघसंस्थालाई निषेध नै गर्न लागेका हुन् ।
एनजीओ तथा आइएनजीओले जनतालाई काम गरेर खानभन्दा पनि मागेर खान सिकाएको भन्दै आफ्नो प्रदेशमा त्यस्ता संघसंस्थालाई निषेध गरिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । ‘पर्यटकको सम्भावना रहेको ठाउँहरुमध्ये कर्णाली प्रदेश एक हो,’ कर्णाली पर्यटन बर्ष २०७५ को जानकारी दिंदै उनले भने, ‘कर्णाली सोचे जस्तो विकट र गरिबी नभएको हो तर, यो प्रदेश गरीब हुनुमा एनजीओे र आइएनजीओको बढी हात रहेको छ ।’
अबका दिनमा एनजीओे र आइएनजीओलाई प्रदेशबाटै आउट गर्ने उनको दाबी थियो । यस्ता एनजीओे र आईएनजीओले जनतालाई परजीबी बनाएको समेत उनको आरोप थियो । ‘यदी त्यस्ता संस्थाले हाम्रो नीति नियमानुसार चल्ने हो भने जिल्लाभित्र रहेर काम गर्न पाउँछन्,’ उनले भने, ‘स्कुल, खानेपानी, अस्पताललगायतका क्षेत्रमा काम गर्ने हो भने बिभिन्न स्तरका छलफल गरेर खुला गर्न सकिन्छ नत्र भने सिधै आउट गरिने छ ।’
यसैगरी मुख्यमन्त्री शाहीले आफ्नो प्रदेशभित्र फेसबुक चलाउन समेत रोक लगाउने बताएका छन् । ‘सबै एनजीओे र आइएनजीओले गर्दा मानिसहरु अब घरमा काम गर्ने मान्छे राखिदिए हुने भन्ने मानसिकतामा पुगिसकेका छन्,’ उनले भने, ‘हामीले आफ्नै उत्पादनलाई जोड दिनको लागि पनि फेसबुक बन्द गर्न लागेका हौं ।’
बिहान ८ देखि बेलुका ६ बजेसम्म फेसबुक बन्द गर्ने र सो समय उत्पादनमुलक कार्यमा लगाउने समेत उनको दाबी थियो । आफ्नो प्रदेशमा पर्यटन प्रबद्र्धनका लागि प्रदेश सरकारले ‘कर्णाली पर्यटन बर्ष २०७५ शुरु’ गर्न लागेको समेत उनको भनाइ थियो । कर्णाली प्रदेशले प्रदेशको सामाजिक न्याय सहितको आर्थिक समृद्धिको लागि पर्यटन विकास गर्ने मुख्य उद्देश्यले पर्यटन बर्ष २०७५ सुरु गर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा वलीद्धारा उदघाटन गर्ने उक्त महोत्सवमा ५ लाख पर्यटक भित्रयाउने उद्देश्यका साथ पर्यटन बर्ष शुरु गर्न लागेको आयोजकले जानकारी दिएको छ ।
प्रदेशलाई पर्यटन हब बनाउने तथा त्यसका लागि जनशक्ति बृद्धि, पर्यटन प्रर्वद्धन गर्न रैथाने उत्पादनको मेला आयोजना गर्ने, रारा तालमाथि प्याराग्लाइडिङ गर्ने, सुटिङलगायतका बिभिन्न मनोरञ्जनका साधनहरु रहने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् । मन्त्री शाहीले पत्रकार भेटघाटमा कर्णालीको छुट्टै विशेषता रहेको भन्दै पर्यटनको विकाश गर्न सकिने बताए । जंगल, ओडार जहाँ सुते पनि पर्यटन हो ।

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार ०८:४१