सूचनाको शक्ति - The Power Of Information

        

खानासँगै धेरै पानी पिउँदा, यस्तो हुन्छ समस्या

काठमाडौं । यदि तपाईंमा खाना खाँदा धेरै पानी पिउने बानी छ भने तुरुन्तै बदल्नुहोस् किनकी त्यसले तपाईंको स्वास्थ्यमा फाइदा गरिरहेको हुँदैन । पानी पिउनु कति फाइदाजनक छ भनेर त हामी सबैलाई थाहा नै छ । तर, कतिबेला पिउने वा नपिउने भन्ने जानकारी नहुन सक्छ । वैज्ञानिक दृष्टिकोणबाट हाइड्रसन र पाचन प्रणालीलाई अति आवश्यक पदार्थ हो पानी । खाना खाएको बेला धेरै पानी पिउँदा यस्ता हानि देखिन सक्छन् :
– यदि तपाईं खानासँग धेरै पानी पिउनुहुन्छ भने यसले पित्त र पेटमा अम्लको आवश्यक स्तरमा असर पार्न सक्छ । यसबाट तपाईंको खाना ठिक तरिकाले पचाउन नसकेर पेटमा अन्य विषाक्त तत्व जम्मा हुन थाल्छन् ।
– खाना खानभन्दा ३० मिनेट पहिला पानी पिउनु राम्रो हुन्छ । खाना खानुभन्दा ३० मिनेट पहिले पानी पिउँदा त्यसले बीचबीचमा पानी पिउने बानी हट्दै जान्छ । खाना पचाउने रसले त्यसपछि आफ्नो काम राम्रोसँग गर्न सक्छ ।
– सात्विक आहार नै हाम्रो स्वास्थ्यको लागि उत्तम हो । जबकि चर्को मसाला, पिरो, धेरै नुन भएको खाना खाँदा पानी खानुपर्ने आवश्यकता हुने भएकाले सादा खाना खानुपर्छ ।
– यदि खाना खाँदा पानी नभई नहुने बानी छ भने थोरै पानीको सहारा भने लिन सक्नुहुन्छ । यदि पानीमा कागती मिलाइएको छ भने यसबाट पाचन क्रिया छिटो हुन मद्दत गर्दछ ।
– यदि तपाईंले दिनभर एक पटक पनि पानी पिउनु भएको छैन भने खानासँग थोरै पानी पिउन सक्नुहुन्छ । किनकि शरीरमा पानीको मात्रा कम भयो भने खाना सजिलै पचाउन गाह्रो हुन्छ साथै एसिडिटी पनि हुन जान्छ ।
– खाना खाएको ३० मिनेटपछि पानी पिउनुपर्छ। यसले खाना सजिलोसँग पचाउन मद्दत गर्छ र शरीरलाई चाहिने आवश्यक पानीको मात्रा पनि पुग्छ । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १२:१४