सूचनाको शक्ति - The Power Of Information

        

सरकार राष्ट्रहित विपरित चले प्रतिवाद गर्ने : थापा

काडमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार राष्ट्रियहित विपरित चले कडा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् । अध्यक्ष थापाले सरकारका गतिविधि राष्ट्रिय हितविरुद्ध भए सडक संघर्षमा उत्रन बाध्य हुने पनि स्पष्ट पारे । उनले आफ्नो पार्टी मुलुकको वैकल्पिक शक्ति भएको दाबी गर्दै सोही अनुसार सशक्त र गतिशील भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिए ।
बिहिबार काभ्रेको धुलिखेलमा सुरू भएको पार्टीको उच्चस्तरीय अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले निर्वाचनमा पराजित भए पनि निराश नभई उच्च मनोबलका साथ देश र जनताको सेवामा लागि पर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । अध्यक्ष थापाले केही वर्षभित्रै पार्टीलाई मुलुकको अग्रणी शक्तिको रूपमा स्थापित गराउने दाबीसमेत गरे ।
उनले निर्वाचनमा भएको हारबाट पाठ सिकेर पार्टीलाई ५ वर्षभित्र अग्रणी शक्तिको रूपमा स्थापित गराउने गरी अभियान नै सञ्चालन गर्ने योजना अघि सारे । अध्यक्ष थापाले गणतन्त्रको नाममा मुलुकमा राष्ट्रिय एकता संकटमा परेको भन्दै चिन्ता पनि व्यक्त गरे । २ दिनसम्म चल्ने अनुशिक्षण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरू र पार्टीका भातृ संगठनका प्रमुखहरू सहभागी भएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार ११:३७