सूचनाको शक्ति - The Power Of Information

        

आईजिपि अबको पालो कस्को

काठमाडौँ । नेपाल प्रहरीले अबको केहि दिनमा नयाँ प्रहरी महानिरिक्षक (आईजीपी) पाउदैछ । हालका प्रहरी महानिरिक्षक प्रकाश अर्यालले अवकाश पाउने भएपछि नेपाल प्रहरीले नयाँ आईजीपी पाउन लागेको हो । अर्यालले यहि चैत्र २८ गते सेवाबाट निवृत्त पाउने भएसंगै नयाँ प्रहरी महानिरिक्षक बन्ने दौड सुरु भएको छ ।
आईजीपी बन्ने दौडमा डिआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्कीलगायत छन् । उनीहरुले आफुहरु आईजीपी हुन आआफ्नो ठाउँबाट दावी प्रस्तुत गर्दै आएका छन् ।
भावी आईजीपी कसलाई बनाउने भन्ने बिषयमा राजनीतिक नेतृत्वमा समेत छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यहि बिषयमा पटकपटक छलफल भएको हो ।
बुधाबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको छलफलमा प्रचण्डले वरियताको पहिलो नम्बरमा रहेका डिआईजी सर्वेन्द्र खनाललाई अबको आईजीपी बनाउनु पर्ने भन्दै आफ्नो धारणा राखेको श्रोतले जानकारी दिएको छ । प्रचण्डले कार्यसम्पादनको आधारमा डिआईजी पहिलो नम्बरमा भएकोले खनाललाईनै प्रहरी प्रमुखको जिम्मेवारी दिईनुपर्ने धारणा राखेका थिए ।
प्रचण्डले आफ्नै पार्टीका नेता समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पनि सोही अनुसार अघि बढ्न निर्देशन दिईसकेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटलगत्तै अध्यक्ष प्रचण्डले गृहमन्त्री थापालाई फोन गरेरै खनालको पक्षमा दृढ रहन निर्देशन दिएको विशेष स्रोतको दाबी छ ।
अर्का डिआईजी पुष्कर कार्की आफ्नो पक्षमा माहोल बनाउन राजनीतिक दौडधुपसंगै विशेष लविङ्मा लागेका छन् । यता अर्का डिआईजी रमेश खरेल पनि आईजीपी बन्ने दौडमा रहेका छन् । उनले विशेष गरि एमालेका दोश्रो तहका नेताहरुसंग लबिङ गरिरहेको बुझिएको छ ।
काठमाडौँ प्रहरी प्रमुख हुदाँ सर्वेन्द्र खनालले जनताको माझ राम्रो काम गरेर लोकप्रियता कमाएका थिए । उनले काठमाडौँ गुन्डागर्दी नियन्त्रण गरेर जनताकोबीच निकै वाहिवाही कमाएका थिए । माओवादीका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादलको चाहना अनुसार खनालनै अग्र पंक्तिमा देखिन्छन् । खनाल प्रहरीको वरियताको पहिलो नम्बरमा रहेकाले उनि गृहमन्त्री बादलको रोजाईमा परेका हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार ०८:४३