सूचनाको शक्ति - The Power Of Information

        

निजी काममा खटाइएका सुरक्षाकर्मी सात दिनभित्र फिर्ता गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिको आडमा निजी काममा खटाइएका सुरक्षाकर्मी सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा भएको मुख्यमन्त्रीसहितको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले घरायसी काममा खटाइएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै कर्मचारीलाई सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।
सबैलाई नियम कानुन बमोजिम निर्णय गरेर खटाएका बाहेकका सुरक्षाकर्मी कसैले निजी काममा प्रयोग गरेको भए सात दिनभित्र फिर्ता गर्न रक्षा सचिव र गृह सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले जानकारी
शक्तिका आडमा कतिपयले सुरक्षाकर्मीलाई घरायसी काममा लगाउने गरेका समाचार पटकपटक आएपछि प्रधानमन्त्रीले यस्तो विषय आफूकहाँ पनि आएको भन्दै सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।
सेना, प्रहरी र सशस्त्र प्रहरीमा गरी झन्डै चार हजारबढी सुरक्षाकर्मी घरायसी काममा प्रयोग हुँदै आएका छन् । पूर्वप्रधानसेनापति, पूर्वप्रहरी महानिरीक्षकदेखि सेना र दुवै प्रहरीका उच्च अधिकृतहरूले राज्यले तोके भन्दा बाहेक घरायसी काममा राख्ने गरेका छन् । व्यक्ति रिझाउन र अनावश्यक काममा सुरक्षाकर्मी खटाउने गरेको पाइएपछि प्रधानमन्त्री ओलीले फिर्ता गर्न सात दिनको समय दिएको हो ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार ०७:३३