सूचनाको शक्ति - The Power Of Information

        

जलवायु परिवर्तनले भँगेरा लोप हुन थाले

कञ्चनपुर । घर आँगन र खेतबारीमा सहजै देखिने भँगेरा हाल देखिन छाडेका छन् । घरको भित्ताको प्वाल, घरको छानामा गुँड लगाउने भँगेरा कम हँुदै गएका हुन् । जलवायु परिवर्तनले बढ्दै गएको तापक्रमका कारण भँगेरा कञ्चनपुर लगायतका क्षेत्रबाट लोप हुने संघारमा पुगेका छन् । बढ्दो गर्मीसँगै छाना बढी तात्ने भएकाले भँगेराले गुँडमा राखेको अण्डा बिग्रिने र भँगेराले तापक्रम सहन गर्न नसकि मर्ने गरेका छन् ।
हुलका हुल देखिने भँगेरा हाल कम मात्रै देखिने गरेको स्थानीयवासीको भनाइ छ । कञ्चनपुरलगायत तराईका जिल्लामा केही वर्षदेखि तापक्रम ४० देखि ५५ डिग्रिसेल्सियससम्म पुग्ने गरेको छ । ‘परम्परागत घरमा भँगेरालाई गुँड लगाउन र बस्नका लागि प्रर्याप्त ठाउँ हुन्थ्यो,’ वातावरणका जानकार बहादुर सिंह महराले भने, ‘हाल बन्ने आधुनिक पक्की घरमा भँगेराले गुँड लगाउने र बस्ने ठाउँ नहँुदा देखिन छाडेका हुन ।’
बढ्दो ध्वनी, धुवाँ र माटो प्रदूषणका कारणसमेत भँगेराका प्रजाति लोप हुने अवस्थामा पुगेको उनले बताए । भँगेराले आहाराका रुपमा रुचाउने किरा फट्यांग्रा र खेतमा छरेको अन्न नै हो । खेतबारीमा रासायनिक मल र विषादीको अन्धाधुन्ध प्रयोग गर्ने क्रम बढ्ेपछि भँगेराको प्रजातिसमेत त्यसको चपेटामा परेको छ ।
‘भँगेराले खेतबारीमा विषादीका कारण मरेका कीरा फट्यांग्रा र छरेको अन्न खाँदा मर्ने गरेका छन्,’ महराले भने, ‘गाँउ शहर भएर बग्ने नदीमा उद्योगबाट निष्कने रसायन मिसाइएको पानी र ढलको पानी मिसाउने गरिएकाले पानी प्रदूषित हुने गरेको छ जुन पानी भँगेराले समेत प्रयोग गर्ने भएकाले यसबाट भँगेरा मर्ने गरेका छन्,’ टेकबहादुर हमालले भने ।
एक अध्ययनअनुसार बजार क्षेत्रमा लगाइने स्ट्रिट लाइटका कारण भँगेराले रात दिन पहिचान गर्न नसक्ने र मोबाइल टावरबाट निष्कने रेडियसनका कारण बाटो पहिचान गर्न नसक्ने भएकाले पनि यसको संख्यामा कमी आएको छ । तीनदेखि १३ वर्षसम्म भँगेरा बाच्ने गर्दछ ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार ०६:०६