सूचनाको शक्ति - The Power Of Information

        

एसईई परीक्षा मुलुकभर आजबाट सुरु

काठमाडौं । आजबाट माध्यामिक शिक्षा परीक्षा एसईई मुलुकभर सुरु भएको छ । परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९५६ केन्द्रमा ४ लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी छन् । नियमिततर्फ ४ लाख ६१ हजार ५१५ र एक्जामटेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी रहेका छन् ।
बिहान ८ बजेदेखि देशभरका परीक्षा केन्द्रहरुमा एकैसाथ परीक्षा सुरु भएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । परीक्षामा प्रति केन्द्र एक जना केन्द्राध्यक्ष, २ हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएको नियन्त्रक रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार, प्रदेश १ बाट ४ हजार २९०, प्रदेश २ बाट ७० हजार ४०२, प्रदेश ३ बाट सबैभन्दा बढी १ लाख २ हजार, प्रदेश ४ बाट ४ हजार ९५४, प्रदेश ५ बाट ७९ हजार, कर्णाली प्रदेशबाट ३८ हजार, प्रदेश ७ बाट ५५ हजार विद्यार्थीले परीक्षा दिँदैछन् । यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गरिएको हो ।
अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ । साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा बाधा पुर्याउने र अमर्यादित कार्य गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको रेग्मीले बताए ।
यसैबीच रुपन्देहीमा एसईई परिक्षाका लागि फारम भोरेका ४२७ जनाले परिक्षा दिन पनाउने भएका छन् । हाजिर नभएको, फाराम भरेर छोडेको लगायतका कारणले उनीहरुले परिक्षा दिन नपाएको जिल्ला शिक्षा अधिकारी रामचन्द्र खनियाँले जानकारी दिए । रुपन्देहीबाट यसवर्ष १७ हजार २८ जना परिक्षामा सहभागी भएका छन् । जसमध्ये ५३९ जना एक्जाम्टेडतर्फका छन् । परिक्षामा ५ जना दृष्टीबिहीन र ८ जना सुस्त श्रवण विद्यार्थी पनि सहभागी भएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार ०२:१०