सूचनाको शक्ति - The Power Of Information

        

पर्यटन विकासका लागि वृहत् साहित्य सम्मेलन

लिवाङ (रोल्पा) । ‘रोल्पामा पर्यटन विकासका लागि साहित्य’ भन्ने मूल नाराका साथ रोल्पाको लिबाङमा आगामी जेठ १५, १६ र १७ गते बृहत साहित्य सम्मेलन हुने भएको छ । रोल्पा नगरपालिकाको सहयोग तथा जिल्लाका विभिन्न साहित्यिक संघ संस्थाहरुको सक्रियतामा सम्मेलन हुन लागेको मूल समारोह समितिका संयोजक डीवी टुहुरोले जानकारी दिए ।
उनका अनुसार भर्खरै गठित मूल समारोह समितिको उपाध्यक्षमा कविता उपाध्याय तथा सदस्यहरुमा दामु मर्सिफुल, लोककुमार श्रेष्ठ, नविन लोचन मगर, देवी गुरुङ, गोकर्ण पुन, ओम पंक्षी, खेमराज गाउँले, महेन्द्र महक रहेका छन् भने सदस्य सचिवमा दीप दर्पण रहेका छन् । समितिको लिबाङमा सम्पन्न पहिलो बैठकले कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।
जसअन्तरगत खेमराज गाउँलेको संयोजकत्वमा कार्यक्रम उपसमिति, महेन्द्र महकको संयोजकत्वमा मञ्च तथा हल ब्यवस्थापन उपसमिति, नविन लोचन मगरको संयोजकत्वमा सञ्चार उपसमिति, गोकर्ण पुनको संयोजकत्वमा यातायात उपसमिति, ओम पंक्षीको संयोजकत्वमा आवास तथा भोजन उपसमिति, लोक आलोकको संयोजकत्वमा पुरस्कार ब्यवस्थापन उपसमिति, कविता उपाध्यायको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, देवी गुरुङको उपसंयोजकत्वमा आर्थिक ब्यवस्थान उपसमिति र दामु मर्सिफुलको संयोजकत्वमा प्रकाशन उपसमितिको जिम्मेवारी बाँडफाँड गरिएको छ ।
यसैगरी हिजो सम्पन्न बैठकले विभिन्न क्षेत्रको सहभागिता हुनेगरी मूल समारोह समितिका लागि ४ जना पदेन सदस्य थप गरेको छ । जसमा जलजला बहुमुखी लिबाङ रोल्पाका प्रमुख, उद्योग बाणिज्य संघ रोल्पाका प्रमुख, गैर सरकारी संस्था महासंघ रोल्पाका प्रमुख, पत्रकार महासंघ रोल्पाका प्रमुख रहनु भएको छ । यसरी कार्यक्रमलाई गरिमामय रुपमा सम्पन्न गर्नका लागि भन्दै ६ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
जसअन्तरगत जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा, रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, प्रमुख जिल्ला अधिकारी रोल्पा, अध्यक्ष नेकपा एमाले रोल्पा, अध्यक्ष नेपाली कांग्रेस रोल्पा र अध्यक्ष नेकपा माओवादी केन्द्र रोल्पा रहेका छन् । साहित्यको उत्थान तथा समग्र रोल्पा नगरपालिकाको विकासलाई मध्यनजर गर्दै साहित्यिक कार्यक्रम संचालन गर्न लागिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिए ।
दशवर्षे सशस्त्र युद्धले प्रभावित रोल्पा जिल्लालाई पर्यटन तथा युद्ध पर्यटनका रुपमा देश विदेशमा समेत चिनाउन सकिने उनको भनाइ छ । कार्यक्रम सभ्य तथा भब्य रुपमा सम्पन गर्नका लागि सबैको सकारात्मक साथ सहयोगको खाँचो हुनेमा उनको जोड छ ।

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार १२:२५