सूचनाको शक्ति - The Power Of Information

        

‘काम गर्नेले नीति र विधि मानिरहेको हुन्छ’


रामेछाप निवासी तारानारायण श्रेष्ठ (विगुल) नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् । पहिलो संविधान सभामा उनी को प्रत्यक्ष निर्वाचित सांसद हुन् । पूर्वसांसद तारानारायण श्रेष्ठसँग पत्रकार सञ्जय श्रेष्ठले गरेको कुराकानी :

पहिलो संविधानसभामा सांसद बन्नुभयो, त्यसपछिका दिनमा तपाईको दैनिकी कसरी चलिररहेको छ ?
– पार्टीको काम गर्ने, जनताको सेवा गर्ने, जनतासँग जोडिएर आएका राजनीतिक, प्रशासनिक समस्याहरुको हल गर्दै बस्ने हो । त्यसबाहेक पार्टीले खटाएको ठाउँमा खटिँदै आएको छु ।

सांसद भएर हालसम्म आइपुग्दा कस्तो महसुस गरिरहनुभएको छ ?
– तपाई ६४ देखि ७४ भन्नुस वा दसबर्षे जनयुद्ध भन्नुस, जनताको हक अधिकारका लागि लडियो, संविधान सभाको माग गरियो, संविधान लेखियो, संविधान कार्यान्वयनको समय छ । एकदमै गर्व महसुस हुन्छ । अब संविधान लेखनका लागि ५०–६० बर्ष त अवसर पाउनै गाह्रो छ । हामीले त विश्वकै उत्कृष्ठ संविधान निर्माण गरेका छौं ।

तर गरिब जनता त जहाँको त्यहिँ छन् होइन ?
– जनताहरु आर्थिकरुपमा समृद्ध हुँदै गएका छन् । तीब्र गतिमा विकास निर्माणका कामहरु भइरहेका छन् । राजनीतिक, सामाजिक, आर्थिक लगायतका चेतना अभूतपूर्व रुपमा विकास भइरहेका छन् । जति हुनु पर्ने हो त्यति नभएको हो, तर केहि भएको छैन भनेर जनता भड्काउनेहरुले पनि राष्ट्रिय इन्डेक्सको डाटा, एनपिएको डाटा अध्ययन गर्न जरुरी छ । हिजो न हुँदा पनि केहि भएन भन्ने, हुँदा पनि केही भएन भन्ने तरिका नै गलत छ ।


युवा जनशक्ति बेरोजगार र पलायन छन्, श्रम विदेशिएको छ, यसलाई रोक्न सकिएको छैन नी ?
– अपेक्षाकृत रुपमा रोक्न सकिएको छैन । यो व्यक्तिगतभन्दा पनि राज्यले नै कानून बनाएर जाने कुरा हो । अब नयाँ राजनीतिक सामाजिक प्रणाली लागु भए रोकिन्छ ढुक्क हुनुुस् ।

तपाई सांसद हुँदा र अहिलेको भूमिकामा के अन्तर छ ?
– भूमिका भन्ने चिज पार्टी दर्जा दिँदा हुने नत्र नहुने भन्ने होइन । जनयुद्धको समयमा भन्नुुस वा २०६४ देखि २०७४ म निरन्तर पार्टी र जनताको काममा छु, र रहिरहने छु । मलाई त अब परिपक्क हुँदै गएको महसुस भइरहेको छ । समयक्रम अनुसार जनताले बढि माया गरिरहेको महसुस हुन्छ ।

तपाईलाई जिल्लामा पार्टीभित्र गुट चलाउने नेता भन्छन् नी ?
– मैले आजसम्म पार्टीले दिएको जिम्मेवारी अनुसार नै आफ्ना गतिविधि गरिरहेको छु । जो पार्टीको नीति र विधि विपरित काम गर्छ, उनीहरुले नै आरोप लगाउँछन्, त्यस्ता खराब तत्वहरुका पछाडि लाग्नुको कुनै अर्थ छैन । जसले काम गर्दैनन्, नीति र विधि मान्दैनन् उनीहरुले हो पार्टीभित्र गुट चलाउने । त्यसकारण काम गर्ने मान्छेले नीति र विधि मानिरहेको छ गुट चलाएको छैन ।

स्थानीय तहको चुनावपछि तपाईले चुनाव चिन्ह परिवर्तन गर्नुपर्ने बताउनु भएको थियो, तर संयोग मान्नुपर्छ तपाईको अध्यक्षले त पार्टी नै परिवर्तन गरिदिनु भयो ?
– पार्टी परिर्वतन गरेको हैन । नयाँ आवश्यकता र परिस्थिति अनुरुप जनताको हित र देशको विकासको लागि परिर्वतन भएका हौं । नेकपा एमाले र हाम्रो पार्टीबीच एकीकरणको तयारी भइरहेको छ । यो नेपाल, नेपाली जनता, नेपालको समृद्धि र विश्वकै लागि उदाहरणीय र नमूनायोग्य निर्णय हो । अब नेपालमा बाम एकताको विकल्प नै छैन । यही योजनाका साथ हामी अघि बढिरहेका छौं । र आगामी दिनमा पनि नयाँ बन्ने नेपाल कम्युनिष्ट पार्टीको योजनालाई आफ्नो योजना बनाएर हामी अघि बढ्छौं । किनभने हाम्रा कुनै व्यक्तिगत योजना छैनन् । अब पनि पार्टीले तय गरेका योजना नै हाम्रा योजना हुन्छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार ११:१२