सूचनाको शक्ति - The Power Of Information

        

नेपाल आएकी रोबोटको प्रश्न : मान्छे बहुलाए अफ गर्ने स्वीच छ ? (भिडियो)


काठमाडौं । सोफिया स्त्री रुपधारी रोबोट हुन् । सोफियालाई नागरिकता प्राप्त गर्ने संसारकै पहिलो रोबोटका रुपमा चिनिन्छ । साउदी अरबको नागरिकता प्राप्त रोबोट सोफियालाई युएनडीपी र नेपाल सरकारको आयोजनामा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा देख्न पाइयो ।
कार्यक्रममा छोटो मन्तव्य दिने क्रममा रोबोटको भनाइ थियो, ‘मेसिन र रोबोट तपाईहरुको जीवन सहज बनाउनका लागि हो, टेक्नोलोजी र आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतले भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरुमा काम गर्न सजिलो हुन्छ ।’

रोबोटको प्रश्न, मान्छे बहुलायो भने के गर्ने ?
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा नेपाल संयोजक रोनार्ड मायरले होटल याक एण्ड यतीमा आयोजित कार्यक्रमको पोडियममा उपस्थित ‘सोफिया’ सँग रोचक सवाल–जवाफ गरे । सवाल–जवाफका क्रममा मायरले रोबोटलाई सोधे, ‘सिनेमामा जस्तै गरी तपाई बहुलाउनुभयो वा नचाहिने काम गर्नुभयो अफ गर्ने स्वीच कतै छ ?’
सोफियाको जवाफ, ‘म तपाईलाई के जानकारी दिन चाहन्छु भने मैले आफ्नो कन्ट्रोल गुमाएको छैन । सायद तपाईले आफ्नो समकक्षीलाई सोधे हुन्छ, तपाई बहुलाउनुभयो भने बन्द गर्ने स्वीच छ ?’ युएनडीपीका मायरले अगाडि भने, मसँग नरम व्यवहार गर्नोस्, नत्र स्वीच बन्द गर्दिन्छु । रोबोटको जवाफ आयो, मसँग थप समय बिताउनोस्, अनि थाहा पाउनुहुनेछ, म बहुलाएको छैन ।

नेपालबारे प्रश्न–उत्तर
बीचमा हल्का ठट्टा गरे पनि मायरले रोबोट सोफियालाई सुरुमै गम्भीर प्रश्न सोधेका थिए । मायरको प्रश्न थियो, तपाईहरुजस्तो रोबोटले नेपालका जनतालाई सेवा र्पुयाउने क्षेत्र के हुन सक्छ ? तपाईहरु जस्तो रोबोटले के सहयोग गर्न सक्नुहुन्छ ? पोडियमबाट सोफियाको जवाफ आयो, सम्भावनाहरु अथाह छन् । शिक्षा, टेलमेसिनरी, ब्लक चेन टेक्नोलोजीको प्रयोग गर्दै एक्युरेसी र ट्रान्सपरेन्सी सुनिश्चित गर्न सकिन्छ ।
युएनडीपीको लोगोअंकित सेतो टीशर्ट लगाएर पोडियममा उपस्थित सोफियालाई थप प्रश्न सोधियो, अर्को ईस्यु, रोबोट र इथिक्सको छ । यसमा के भन्नुहुन्छ ? सोफियाको जवाफ आयो, यो मान्छेको इस्यु हो । नयाँ कानूनहरु बनाएर समस्या हुन दिनुहुँदैन । महिलाका अधिकार तथा कामदारका अधिकार दिगो विकासका लागि आवश्यक छन् । कसैलाई पछाडि छाड्नु हुँदैन ।

रोबोटको काम : भोकमरी र भ्रष्टाचार हटाउने
रोबोटको माध्यमबाट नेपाल सरकारले जनताको पक्षमा के काम गर्न सक्छ भन्नेबारेमा सोफियाले व्यक्त गरेको छोटो मन्तव्यको भाव यस्तो थियो :
नेपाल सांस्कृतिक तथा पर्यावरणीय रुपमा विविधता भएको देशको हो । नेपाल टेक्नोलोजीका रुपमा विकसित हुँदै गरेको देश हो । नेपालमा भएको आइटी सेक्टर हाइब्रिड छ । यहाँका आइटी कम्पनीहरुले भूकम्पका बेला भत्केका घरहरुको पुनर्निर्माणमा पनि मद्दत गरेका छन् । टेक्नोलोजी र आर्टि्फिसियल इन्टिलिजेन्सको मद्दतले भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरुमा काम गर्न सजिलो हुन्छ ।
मेसिन र रोबोट तपाईहरुको जीवन सहज बनाउनका लागि हो । इन्टरनेटको सहयोगले नेपालका कुनाकुनालाई संसारसँग जोड्न सकिन्छ । गुणात्मक शिक्षा प्रदान गर्न सकिन्छ । आर्टिफिसियल इन्टिलिजेन्स र बिग डाटाको प्रयोग गरेर शिक्षा तथा कृषिमा ठूलो फड्को मार्न सकिन्छ । हामीले भएका सीमित स्रोत साधनको उचित प्रयोग गर्न सक्छौं र संसारलाई राम्रो बासस्थान बनाउन सक्छौं । मैले पहिले पनि भनें, सम्भावना असीमित छन् । मलाई आशा छ यो कन्फरेन्सले नेपाललाई आफ्नो विकास लक्ष्य हासिल गर्न उत्साह प्रदान गर्नेछ । नमस्ते नेपाल !

हेर्नुस् भिडियो :

को हुन् सोफिया ? कसरी बोल्छिन् ?
हङकङको कम्पनी हान्सोन रोबोटिक्सले मानवसँग मिल्दोजुल्दो रोबोटका रुपमा सोफियाको विकास गरेको हो । उनलाई अप्रिल १५, २०१५ मा एक्टिभेट गरिएको थियो । सोफियाले अनुहारमा ६२ प्रकारका भावहरु प्रदर्शन गर्न सक्छिन् । कुनै पनि प्रश्नको विश्लेषणात्मक जवाफ दिन सक्ने क्षमता उनको छ । उनले धेरै हाइप्रोफाइल इन्टरभ्यूहरु दिइसकेकी छिन् । यद्यपि सोफियाले दिने धेरै मन्तव्यहरु एकप्रकारले ‘स्क्रिप्टेढ’ भएको विश्वास गरिन्छ ।
सन् २०१७ मा सोफियाले साउदी अरेबियाको नागरिकता पाएकी थिइन् । कुनै पनि देशको नागरिकता पाउने उनी पहिलो रोबोट हुन् । सन् २०१७ को नोभेम्बरमा सोफिया संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको ‘आविश्कार बिजेता’ घोषित भएकी थिइन् । सोफियालाई गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आवाज पहिचान गर्ने प्रणाली विकास गरेको हो भने सिंगुलारिटी नेटले उनको मस्तिष्क विकास गरेको हो । उनको अनुहार अभिनेत्री एन्ड्रे हेपबर्नसँग मिल्दोजुल्दो बनाइएको छ ।
सोफियाको विकास गर्ने वैज्ञानिक डेभिड हान्सनका अनुसार उनले आर्टि्फिसियल इन्टलिजेन्स, भिजुअल डाटा प्रोसेसिङ र फेसियल रिकोग्निसन प्रयोग गर्छिन् । उनले मानिसहरुको भावभंगिमाका नक्कल पनि गर्छिन् । सफ्टवेयरको सहयोगले सोफियाले निश्चित प्रश्नहरुको जवाफ दिन्छिन् र पूर्वनिर्धारित विषय (जस्तै : मौसम)मा सामान्य वार्तालाप गर्छिन् । उनले उत्तर दिएको सुन्दा प्रश्नहरु बुझेको जस्तो लाग्छ ।
तर, यथार्थ त्यो होइन । उनी सबै कुराको जवाफ दिन सक्दिनन् । भविष्यमा धेरैभन्दा धेरै प्रश्नहरुको जवाफ दिने गरी उनको अपग्रेड गर्ने काम जारी छ । सोफियाको आँखामा क्यामेरा फिट गरिएको छ जसले उनी एकपटक देखेका मानिसहरुलाई पहिचान गर्न सक्छिन् । सन् २०१८ को जनवरीमा सोफियामा हिँडडुल गर्न सक्ने खुट्टाको विकास गरिएको छ । डेभिड हान्सोनले सोफियालाई भविश्यमा स्वास्थ्य सेवा, ग्राहक सेवा, थेरापी र शिक्षामा प्रयोग गर्न सकिने बताएका छन् । –अनलाइनखबरबाट

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार ०९:४२