बसन्तप्रताप सिंह । बझाङ । जुना बुढाकी पति प्रहरी थिए । सेवामै रहँदा उनको हत्या भयो । कमाउने घरमूलीको निधनपछि जुना, दुई छोरी र एक छोरा भोकै बस्नुपर्ने अवस्था आयो । खोला किनारमा गिटी कुटेर निर्वाह गर्न थालिन् । दुःखको कुनै सीमा थिएन । ठूलो र दुखद मोडबाट गुज्रिएकी जुनाको जीवनमा फेरि अर्काे एउटा मोड आयो । तर, यो मोड सुखद थियो ।
बझाङ सदरमुकाम चैनपुर नजिकको बाहुली खोलमा गिटी कुटिरहेकी जुनाको भेट सीता खड्कासँग भयो । सीता दुःख पाएका महिलाहरु खोज्दै हिँड्थिन् । के सहयोग गर्नुपर्छ भनेर विचार गर्दै हिँड्थिन् । धेरैको उद्दार गरिसकेकी थिइन् । अब पालो आयो जुनाको । जुनालाई सीताले निशुल्क सिलाईकटाई तालिम दिन थालिन् । सीता सहारा तालिम केन्द्र संचालन गर्छिन् । केही महिनामै सिलाई कटाईमा जुना दक्ष बनिन् । त्यसपछि जुनाले आफ्नै सिलाई कटाई पसल खोलिन् ।
अहिले महिनाको तीस हजार रुपैयाँभन्दा धेरै कमाउँछिन् । छोराछोरीलाई काठमाडौं पढ्न राखेकी छिन् । जुना जस्ता विचल्लीमा परेका र सीप नभएर बेरोजगार बसेका पाँच सय भन्दा धेरैजना महिलालाई सीताले तालिम दिएकी छिन् । उनीहरु अहिले सिलाई कटाई व्यवसायबाट आफ्नो जिविका चलाई रहेछन । सहारा सिलाई कटाई तालिम केन्द्रमा निशुल्क तालिम लिएर ३० भन्दा बढी एकल महिला र हिंसा पिडित महिला स्वरोजगार भएका छन ।
दुई वर्षको अवधीमा पाँच सय भन्दा बढी महिलाले सशुल्क सीप सिकेका छन् । महिलाको सीप विकासका लागी सरकारी स्तरबाट गरिएको लगानी प्रभावकारी नभएको गुनासो आइरहेको छ । तर, निजी स्तरमा खुलेको सीताको सहारा तालिम केन्द्रले उदाहरणीय काम गरिरहेको छ, सफलता हासिल गरेको छ । सीता आफ्नै जीवन पनि कम रोमांचक छैन । विपन्न परिवारकी हुन् । कक्षा एक पास गरिन् तर दुईमा भर्ना हुन पाँच रुपैयाँ थिएन ।
त्यसैले दोहोराएर एकमै पढेकी थिइन् । संघर्ष गरेरै सीताले प्लस टुसम्मको अध्ययन गरेकी छिन् । ‘सहारा तालिम केन्द्र नभएको भए मेरो विचल्ली हुने थियो,’ मष्टा गाउँपालिकाकी भिडी खड्का भन्छिन् । भिडीको १२ वर्षको उमेरमा विवाह भएको थियो । पछि श्रीमानले घर निकाला गरे । त्यसपछि सहारा तालिम केन्द्रमा सीप सिकिन् । अहिले आफ्नै सिलाई कटाई सेन्टर खोलेर राम्रो आम्दानी गरिरहेको भिडी बताउँछिन् ।
सहारामा तालिम लिएका अधिकांश महिलाहरु अहिले विभिन्न ठाउंमा रोजगारमा रहेको उनको सीता बताउँछिन् । ‘धेरैजसोले आफ्नै सिलाई पसल खोलेका छन । कतिजना प्रशिक्षक भएका छन । यहाँ तालिम लिएका ५० जना भन्दा बढी महिला काठमाडौं र धनगढीका ठूला टेलरिङ सेन्टरमा राम्रो जागिर खाइरहेका छन्,’ सीता भन्छिन् । तालिम किन ? सीता भन्छिन्, ‘मैले भोगेको जस्तो गरिवीको पीडा कसैले भोग्न नपरोस भनेर शुल्क तिर्न नसक्नेलाई निशुल्क तालिम दिने गरेकी छु ।’
सडकमा अलपत्र अवस्थामा भेटिएका ५ जना महिलालाई आफ्नै खर्चले खानेवस्ने व्यवस्था समेत गरेर सिप सिकाई दिएको बताउँदै उनले भनिन्, ‘हातमा सीप नभएका कारण महिलाहरु विभिन्न ढंगले पीडित छन । तालिम केन्द्र खोलेर मैले आफ्नो आर्थिक अवस्था सुधार गरेकी छु भने थुप्रै गरिब दिदी बहिनीलाई गरिखाने बाटो बनाई दिएकी छु । यसैमा म खुसी छु ।’ स्थानीय एक लघुवित्तबाट ६० हजार रुपैयाँ ऋण लिएर सीताले सुरु गरेको सहारा तालिम केन्द्रमा तीन महिना र ६ महिनाको कोर्ष छ ।
सहारा तालिम केन्द्र दुई ठाउँमा छ । सदरमुकाम चैनपुर र निर्वाचन क्षेत्र नम्बर दुईको झोता बजारमा । अहिले दुई तालिम केन्द्रमा ७० जना भन्दा बढी महिलाहरु सिलाई कटाई तालिम लिइरहेका छन । भविष्यमा महिलालाई लक्षित गरेर व्युटीपार्लर तथा अन्य विभिन्न सीपमूलक तालिम संचालन गर्ने सीताको योजना छ । सहारा तालिम केन्द्रले बझाङका थुपै्र महिलाहरुको सहाराको रुपमा काम गरिरहेको भन्दै महिला विकास अधिकृत लिला घलेले सीताको कामको खुलेर प्रसंशा गरिन् ।
उनले भनिन् ‘विचल्लीमा परेका थुप्रै महिलाहरु हामीले हेर्दाहेर्दै गरिखाने भएका छन । कतिले आफ्नै पसल खोलेका छन् । अरुलाई पनि काम दिएका छन् । कतिले छोराछोरी काठमाण्डौ पढाएका छन् । हिजो खानलाई छैन भनेर रुँदै आउने दिदि बहिनीहरुको मुहारमा हासो देख्दा हामीलाई पनि खुशी लागेको छ ।’
।