बाँके । बैमौसमी मकै खेती गरेर बाँकेका किसानहरु राम्रो आम्दानी गर्न सफल भएका छन् । वर्षे सिजनमा लगाइने स्थानीय जातको मकैभन्दा हिउँदे सिजनमा लगाइने हाइब्रिड जातको मकैबाट तीन गुणासम्म बढी उत्पादन हुन थालेपछि किसानहरुमा बैमौसमी मकै खेतीतर्फ आकर्षण बढेको हो ।
हिउँदे सिजनमा गहुँ, मसुरो र तोरी खेती गर्दै आएका किसानले हाइब्रिड जातको मकै खेती गरेर अन्य हिउँदे बालीको तुलनामा तीन गुणासम्म फाइदा गर्न सफल भएका छन् । किसानहरुले मकैको हरियो घोगा ५ देखि १० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । गतवर्ष मकैको हरियो घोगा बिक्री गरे किसानले ५० हजारदेखि ३ लाखसम्म आम्दानी गरेका थिए ।
हिउँदे सिजनमा लगाइने हाइब्रिड मकैबाट राम्रो आम्दानी हुने थालेपछि किसान हिउँदे मकै खेतीतर्फ आकर्षित हुँदै गएको बाँके पुरैनीका इब्राहिम खाँले बताए । उनले ३८ कठ्ठामा बेमौसमी मकै खेती गरेका छन् । मकैको घोगा बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि बेमौसमी खेती गर्न थालेको उनले बताए । नेपालगन्ज, कोहलपुर लगायतका सहरी क्षेत्रबाट हरियो मकै किन्न व्यापारीहरु किसानको खेतबारीसम्मै पुग्ने गरेका छन् ।
बाँकेमा करिब १ हजार ५ सय हेक्टरमा बेमौसमी मकै खेती हुँदै आएको छ । बाँकेलाई मकै खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्न नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनामार्फत मकै जोन क्षेत्र कार्यक्रम सञ्चालन गरेको छ । परियोजनामार्फत मकै खेती गर्ने किसानहरुलाई उन्नत बिउ, मलखाद र सिँचाइका लागि अनुदान कार्यक्रमहरु सञ्चालन गरिएको परियोजनाका कृषि अधिकृत शकिल अहमद खाँले बताए ।
मकै बालीलाई तयार हुन ११५ देखि १३० दिनसम्म लाग्छ । बाँकेमा प्रति हेक्टर ८ देखि १० मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेको छ । नेपालमा करिब ९ लाख २८ हजार ७६१ हेक्टर जमिनमा मकै खेती गरिन्छ । नेपालमा बर्सेनि करिब २३ मेट्रिक टन मकै उत्पादन हुन्छ । अन्य मुलुकको तुलनामा नेपालमा मकैको औसत उत्पादन निक्कै कम छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा मकैको औसत उत्पादन २.४६ टन प्रतिहेक्टर रहेको छ ।
उन्नत बिउ प्रविधि, सिँचाइ, मलखादको व्यवस्थापन गर्न सक्ने हो भने मकैको औसत उत्पादन वृद्धि गर्न सक्ने प्रशस्तै सम्भावना रहेको छ । मकैबालीले कृषि क्षेत्रको कुल ग्रार्हस्थ उत्पादनमा करिब ६.८८ प्रतिशत हिस्सा ओगटेको छ । नेपालीले प्रयोग गर्ने मुख्य खाद्यान्नमध्ये करिब २६ प्रतिशत हिस्सा मकैले ओगटेको छ ।
।