देवी भण्डारी । दाङ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले ५ नम्वर प्रदेश राजधानी बुटवल स्थायी हुन नसक्ने बताएका छन् । उनले दाङ राजधानीको मुद्दा अझै नसुल्झिएको भन्दै प्रदेशको अस्थाई राजधानी बुटवल तोकिए पनि त्यहाँ स्थायी राजधानी हुन नसक्ने बताएका हुन् ।
सभामुख भइसके पछि विभिन्न कार्यक्रममा सहभागीका लागि आफ्नो निर्वाचन क्षेत्र दाङ पुगेका भएका महराले देशका विभिन्न प्रदेश राजधानीको सवालमा अहिले पनि निकै गम्भीर छलफल चलिरहेको बताए । घोराही उपमहानगरपालिकाले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै सभामुख महराले यस्तो कुरा बताएका हुन् ।
उनले भने, ‘५ नम्वर प्रदेश राजधानीका सवालमा आफैमा अर्को निर्णय पनि हुन सक्छ । दाङ राजधानीहुने मुद्दा अझै सेलाएको छैन । यसमा सबैको साथ र समर्थनको खाँचो छ ।’ उनले घुमाउरो भाषामा दाङलाई प्रदेश राजधानी हुनवाट कसैले रोक्न नसक्ने संकेत गरे ।
कार्यक्रममा बोल्दै सभामुख महराले अब आफु जिम्मेवारीको हिसावले सबैको साझा व्यक्ति भएको समेत बताए । तर पदिय हिसावले तटस्थ र साझा भए पनि राष्ट्रको विकासको सवालमा आफु तटस्थ र साझा नरहने बताएका छन् । खासगरी दाङको विकासका लागि आफ्नो तर्फवाट कुनै पनि कसुर वाँकी नराख्ने जिकिर गरेका छन् ।
सभामुख महराले भने, ‘हिजो मेरो राजनीतिक पृष्ठभूमि माओबादी केन्द्र भएता पनि अव म सबैको साझा व्यक्ति भएको छु । त्यसैले अव मलाई जुनसुकै दलका मान्छेहरुले सोझै कुरा राख्न सक्नुहुनेछ । यसमा मैले कुनै भेदभवा राख्ने छैन । तर विकासका लागि म तटस्थ बस्ने छैन ।’
सभामुख महराले सभामुख भइसकेपछि आफुमाथि जिम्मेवारी र चुनौति पनि धेरै रहेको बताए । उनले नयाँ सविधान अनुसार जनपक्षिय कानून बनाउने कुरा आफ्नो लागि निकै जिम्मेवारी पूर्ण र चुनौतिपूर्ण रहेको भन्दै यो कार्यभारलाई ध्यानपूर्वक पुरा गर्ने बताए । घोराही उपमहाँनगारपालिकाका मेयर नरुलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपमेयर सिता न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
।