सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज विमानस्थल हुँदै रारा जाने पर्यटक समस्यामा


बाँके । विगत दुई महिनादेखि नेपालगन्ज विमानस्थल मर्मतका लागि दिउँसो ३ बजेपछि बन्द गरिँदा यात्रुले सास्ती खेप्दै आएका छन् । दिउँसो ३ बजेपछि विमानस्थल बन्द हुँदा नेपालगन्जबाट हवाई मार्ग हुँदै मुगुको रारा जाने पर्यटकहरु बढी समस्यामा परेका छन् ।
विमानस्थल मर्मत अहिलेकै गतिमा अगाडि बढे मानसरोवर जाने पर्यटक समेत समस्यामा पर्न सक्ने देखिएको छ । कैलाश मानसरोवर जाने क्रम बैशाखदेखि सुरु हुन्छ । गत वर्ष नेपालगन्जबाट करिब १२ हजार पर्यटक हुम्लाको सिमीकोट हुँदै कैलाश मानसरोवरको यात्रामा गएका थिए । तीर्थयात्रीको चापका कारण गत वर्ष कतिपय दिनमा नेपालगन्जबाट हुम्लाको सिमिकोटका लागि दैनिक १६ वटासम्म उडान भएको थियो ।
नेपालगन्ज विमानस्थलमा विमानको चाप बढेसँगै सरकारले धावनमार्गको मर्मत कार्य अगाडि बढाएको हो । यसै वर्षको माघ २ गते निर्माण पूरा गर्नेगरी पप्पु लुम्बिनी एपेक्स जेभीले ठेक्का लिएको थियो । अवधि सकिएर म्याद थपिएको २ महिना बितिसक्दा पनि निर्माण कार्य भने करिब ६० प्रतिशत मात्रै पूरा भएको छ । करिब १३ करोडको लागतमा हुन लागेको मर्मतको काम पप्पु लुम्बिनी एपेक्स जेभीले लिएको भए पनि निर्माणको काम भने पप्पु कन्स्ट्रक्सनले गरिरहेको छ ।
विमानस्थल मर्मतका लागि नागरिक उडड्यन प्राधिकरणले माघ १६ देखि फागुन १९ सम्म दिउँसो ३ बजेपछि उडान र अवतरण रोकेको थियो । तर, ३५ दिनमा काम नसकिएपछि थप २५ दिन म्याद थपेर चैत १५ सम्म दिउँसो ३ बजेपछि विमानस्थल बन्द गरेर निर्माण कार्यलाई निरन्तरता दिइएको छ । ठेकेदार कम्पनीले निर्धारित समयमा काम नसकेपछि प्राधिकरणले निर्माण कम्पनीलाई ८८ दिन थपेर चैत १५ सम्मको समयसीमा दिएको छ ।
दिउँसो काम गर्न सजिलो हुने भन्दै ३ बजेपछि विमानस्थल बन्द गरिए पनि ठेकेदार कम्पनीले समयमै निर्माण सामग्री, उपकरण र दक्ष जनशक्तिको व्यवस्थापन गर्न नसक्दा सामान्यतया साँझ ५ बजेपछि मात्रै काम सुरु हुने गरेको छ । ठेकेदारले दक्ष जनशक्ति र निर्माण सामाग्रीको व्यवस्थापन गर्न नसक्दा मर्मतको काममा ढिलाइ भएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका इञ्जिनियर योगेन्द्रराज शर्माले बताए । नियमित मर्मत अन्तर्गत नै विमानस्थलको करिब १५ सय मिटर लामो धावनमार्गसहित करिब ५ हजार ८ सय क्विक मिटर क्षेत्रमा मर्मत र स्तरोन्नतिको काम भइरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार ११:५५