रोल्पा । युवालाई गाउँघरमै स्वरोजगार बनाउने उद्देश्यका साथ जिल्लाको एक स्थानीय निकायले युवा लक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याएको छ । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाले युवालाई स्वदेशमै स्वरोजगार बनाउँदै विदेश पलायन रोक्न यस्तो कार्यक्रम थालनी गरेको जनाएको छ ।
युवाका लागि गाउँपालिकाले आरन प्रवद्र्धन, ड्राईभिङ, अल्लो भांगो प्रवद्र्धन, मुडा र नमकिन बनाउनेलगायतका तालीम सञ्चालन गरिरहेको छ । तालीमपश्चात नियमित अनुगमनसमेत गर्दै तालीमलाई जीवन उपयोगी बनाउने सोचका साथ अगाडि बढेको उक्त गाउँपालिकाले जनाएको हो ।
गाउँपालिको दलित बाहुल्य सिउरी गाउँका १० दलित युवाका लागि परम्परागत पेशा प्रवद्र्धनमा युवाको आकर्षणसमेत बढाउन एक महिने आरन प्रवद्र्धन प्रशिक्षक प्रशिक्षण आयोजना गरेको छ । परम्परागतरुपमा सञ्चालन हुँदै आएको सो पेशालाई आधुनिकीकरण गर्न सो तालीम आयोजना गरेका हाँै गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले भने ।
परम्परागत पेशालाई स्तरोन्नति गर्दै साना उद्योगको रुपमा विकास गरी अन्य युवालाई समेत रोजगारी सिर्जना गर्ने गरी काम थालिएको उनले जानकारी दिए । जिल्लामा भित्री सडक विस्तारसँगै गाडी चालकको समेत माग भएको हुँदा उक्त गाउँपालिका महिला र पुरुष गरी २५ युवालाई सवारी चालक तालीम दिने तयारीमा छ ।
तालीमबाट दक्षता हासिल गरेसँगै सबै युवाले सहजै पेशामा आबद्ध हुन सक्छन् अध्यक्ष पुनले भने । गाउँपालिकाले महिलाका लागिसमेत नमकिन बनाउने, मुडा बनाउने र अल्लो भांगो प्रवद्र्धन तालीम सञ्चालन गरेको छ । घरको चुलोचौकामा सीमित हुने महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालीम सञ्चालन गरिएको हो ।
युवाका लागि गाउँमै रोजगारी सिर्जना नगरे विदेश पलायन भइरहेको युवा जनशक्ति रोक्न नसकिने भएकाले अल्पकालीन योजनाका रुपमा युवामा सीप र क्षमता विकास गरी स्वरोजगार बनाउने र दीर्घकालीनरुपमा कृषिलाई व्यवसायीकरण तथा स्थानीय अल्लो भांगोको उद्योगसमेत स्थापना गर्ने सोच बनाएका छौँ अध्यक्ष पुनले भने ।
स्थानीय सरकारको लगानी र प्रत्यक्ष निगरानीमा युवा लक्षित कार्यक्रम भइरहेको घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत बालकृष्ण आचार्यले बताए । गाउँपालिकाले युवालाई स्वदेशमै स्वरोजगार बनाउने गरी काम थालनी गरेको हुँदा आगामी दिनमा युवा जनशक्ति विदेश पलायन हुनबाट रोकिने उनले आशा व्यक्त गरे । हाल रोल्पाका ४० हजार बढी युवा वैदेशिक रोजगारीको सिलसिलामा खाडीको विभिन्न मुलुकमा मजदूरी गरिरहेका छन् ।
।