सूचनाको शक्ति - The Power Of Information

        

६९ वर्षीया भुलमतीले गरिन् छोरालाई मिर्गौला दान, धनबहादुरको दोस्रो जन्म

बेनी– आमालाई जगत् जननीको रुपमा धेरैले सम्मान गर्दछन्। जसरी धर्तीले मानव जातिका लागि बोझ थामेकी हुन्छिन्। सन्तानका लागि आमाले पनि त्यतिकै कष्ट उठाउँछिन्। नौ महिनासम्म अनेक दुःखकष्ट थिचोल्दै आफ्नो सन्तानलाई उनले जन्म मात्र दिन्नन् आफ्नै शरिर दाउमा राखेर अप्ठेरो स्थितीबाट आफ्ना सन्तानलाई पार लगान पनि पछि हट्दिनन्।

यस्तै एउटा उदारहण बनेकी छन्, धौलागिरि गाउँपालिका–५, मल्कवाङ भेडिखाल्टाकी भुलमती बुढाथोकी। तीन छोरा र एक छोरीकी आमा भुलमतीले माइला छोरा धनबहादुरको दुवै मिर्गौलाले काम गर्न छोडेपछि आफ्नो एउटा मिर्गौला दिएर छोरालाई नयाँ जीवन दिएकी छन्। उनान्सत्तरी वर्षीया भुलमती मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पुगेर मिर्गौला प्रत्यारोपण गरेपछि प्रसन्न मुद्रामा भेटिइन्।

‘छोराले मृत्युसंग संघर्ष गरिरहेका बेलामा श्रीमतीले शक्ति दिइन्। दुवै जनाको हेरचाह गरिरहेको छु।’, धनबहादुरका पिता लिलबहादुरले भने। रोजगारीको सिलसिलामा साउदी अरबमा पुगेका धनबहादुरको स्वास्थ्य परीक्षण गर्दा दुवै मिर्गौलामा खराबी देखिएपछि उनी एक महिना साउदीमै उपचार गरी घर फर्किएका थिए। बुढाथोकीका लागि आमा, बुबा र दिदीले मिर्गौला दिन तयार भए पनि आमाको मिर्गौला मिल्ने भएपछि प्रक्रिया अगाडि बढेको थियो।

आमाको मिर्गौलाले नयाँ जीवन पाएको बताउँदै धनबहादुरले बल्ल आमाको महत्व थाहा पाएको अनुभुती सुनाए। ‘छोराछोरीका दुःख–कष्ट सबै आमाबाटै सुल्झने रहेछ। उहाँले धेरै दुःख खेपेर मलाई दोस्रो जन्म दिनुभयो। आमा सर्वशक्तिमान हुनुहुन्छ।’ उनले भने।

धनबहादुरको उपचारमा सहयोग पुर्याउन स्वदेश तथा विदेशमा रहेका मल्कवाङवासीको सक्रियतामा आर्थिक संकलन भएको थियो। सो क्रममा करिब ५ लाखभन्दा बढी सहयोग संकलन भएको आफन्तको भनाइ छ। अझै नियमित औषधिका लागि रकम अपुग भएको परिवारको गुनासो छ। कोठा भाडा, खाना, यातायात खर्च र नियमित औषधिका लागि परिवारले सहयोगको याचना गर्दै आएका छन्। रासस

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार ०४:२२