सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ मा एक महिनापछि मन्त्रीमण्डल विस्तार

रेनुका गिरी । बुटवल । प्रदेश नम्बर ५ मा आज ३ जना मन्त्री थप भएका छन् । प्रदेश सरकार गठन भएको एक महिनापछि सोमबार मुख्य मन्त्री शंकर पोखरेलले एमालेका २ र माओवादी केन्द्रका एक सांसदलाई मन्त्रीमण्डलमा समावेश गरेका हुन् ।
रुपन्देही क्षेत्र नम्बर २ (१) बाट निर्वाचित लिला गिरी उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री बनेका छन् । उनी नेकपा एमालेका सांसद हुन् । एमालेकै आरती पौडेल कृषि तथा सहकारी मन्त्री बनेकी छिन् । उनी बाँके क्षेत्र नम्बर १ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । माओवादीका तर्फबाट गुल्मी क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सुदर्शन बराल सामाजिक विकास मन्त्री बनेका छन् ।
नवनियुक्त मन्त्रीहरुले सोमबार नै प्रदेश प्रमुख उमाकान्त झाबाट सपथ ग्रहण गरेका छन् । यससँगै प्रदेश ५ को मन्त्रीपरिषद मुख्यमन्त्रीसहित ६ सदस्यीय भएको छ । यसअघि एमालेका बैजनाथ चौधरी भौतिक विकास तथा पूर्वाधार मन्त्री र कुलप्रसाद केसी आन्तरिक मामिला तथा कानून मन्त्री बनेका थिए । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय भने अहिले मुख्यमन्त्रीसँगै रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार ०१:५५