सिवी अधिकारी । काठमाडौं । विमान चालक (पाइलट) अभावका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का साना विमान त्यतिकै थन्किएका छन् । निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएका चार वटा वाई–१२ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका हुन् ।
नियमित व्यावसायिक उडानमा हुनुपर्ने विमानबाट उडान हुन् नसस्कँदा निगमलाई निकै ठूलो आर्थिक भार पर्न गएको छ । पाइलट अभावले उडान भर्न नसकेका विमानलाई नियमित सेवामा लैजान आवश्यक तयारी भइरहेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । ‘विमान सञ्चालनका लागि हामीले पाइलको व्यवस्था गर्दैछौँ स्वदेशी तथा विदेशी पाटलट नियुक्ति गरेर चाँडै विमान सञ्चालनमा ल्याउछौ,’ उनले भने ।
पाइलट अभावले निगम चीनबाटै पाइलट ल्याउने तयारीमा रहेको भए पनि सेवा सुविधाबारे कुरा मिलिनसकेकाले अझै छलफल चलिरहेको छ । निगमसँग अहिले चिनियाँ जहाज उडाउन सक्ने पाइलट एकजना मात्रै रहेकामा उहाँ पनि विरामी भएपछि एक सातादेखि चार चिनियाँ जहाज उड्न सकेका छैनन् । यसअघि पोखरा, भरतपुर र सिमरामा उडान गर्दै आएका वाई १२ एक साता यतादेखि पाइलट अभावका कारण उडान नगरी बसेका छन् ।
झण्डै एक महिना अघि भित्रिएका थप दुई चिनियाँ वाई–१२ का लागि पाइलट अभाव रहेको निगमको भनाइ छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चिनियाँ कम्पनीका दुईवटा विमान भित्र्याएको थियो । अहिले निगमसँग चार वाई १२ सहित आन्तरिक उडानमा आठवटा जहाज छन् । निगमले काठमाडौंबाट सिधा छ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ ।
त्रिचालिस पाइलट माग : निवेदन अति न्यून
निगमले पाइलट अभाव पूर्ति गर्न हालै ४१ जना पाइलटको विज्ञापन माग गरेपनि अहिलेसम्म ११ जनाले मात्र निवेदन दिएका छन् । आन्तरिक उडानका लागि ल्याइएका चिनीयाँ विमान उडाउन पनि समस्या भएपछि निगमले सार्वजनिक सूचना प्रकाशित गर्दै सञ्चालनमा रहेका विभिन्न जहाजका लागि करारमा आवेदन माग गरेको थियो ।
अहिलेसम्म ११ जनाको मात्र निवेदन परेको र अझै केही दिनमा बढ्नसक्ने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बताए । निगमका प्रवक्ता श्रेष्ठले पछिल्ला दिनमा पनि निवेदन परेकाले यो संख्या बढ्नसक्ने जानकारी दिए । गत शुक्रबार पर्यटनमन्त्रीको पदबहालीका क्रममा मन्त्रालयमा भेटिएका महाप्रबन्धक कंसाकारले अहिले निगममा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि करिब ७० जना मात्र पाइलट रहेको जानकारी दिएका थिए ।
असारको दोस्रो साता वाइड बढी भित्रिने
निगमले अबको तीन महिनाभित्र थप दुई वाइड बढी विमान अन्तर्राष्ट्रिय उडानका लागि भित्र्याउँदैछ । हाल विभिन्न मुलुकका आठ गन्तव्यमा एक बोइङ एसिबी–५७५ र दुई एयरवस ए–३२० विमानबाट अन्तर्राष्ट्रिय उडान निगमले भर्दै आएको छ । आगामी असारको दोस्रो साता (जुनभित्र) वाइड बढी विमान नेपाल भित्रिने निगमका महाप्रबन्धक कंसाकारले बताए । निगमले बढीमा दुई वर्षसम्मका लागि एयरबस ३३० का लागि छ जना पाइलट माग गरेको छ ।
त्यस्तै एयरबस ३२० का लागि दुई वर्षसम्म चार जना पाइलट, बोइङ ७५७ का लागि छ महिनादेखि एक वर्षसम्म छ जना पाइलटको आवेदन माग गरेको छ । अन्तर्राष्ट्रिय उडानबाहेक आन्तरिक उडानका लागि पनि निगमले करारमा पाइलट माग गरेको हो । बढीमा पाँच वर्षसम्म एमए ६० का लागि चार जना, पाँच वर्षसम्मकै लागि वाई १२ मा ११ जना पाइलट माग गरेको निगमले जनाएको छ । त्यस्तै एयरबस ३३० र बोइङ ७५७ का लागि समान छ जनाको पाइलटको पनि निगमले आवेदन मागेको छ । इच्छुक व्यक्तिले उडान अनुमतिको लाइसेन्स, प्रमाणपत्रसहितको आवेदन इमेल गर्नसक्ने निगमको सूचनामा भनिएको छ । रासस
।