सूचनाको शक्ति - The Power Of Information

        

आफुले काम गरेर देखाउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हात बाँधेर बस्नको लागि प्रधानमन्त्री नभएको बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान भवनको आज काठमाडौंको मातातीर्थमा उद्घाटन गर्दै उनले आफुले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।
अरुको प्रगति सुनेर बस्ने र कुरा गर्ने दिन अब नभएको भन्दै ओलीले पाँच बर्षभित्र नेपालको कायपलट गर्ने उद्घोष गरे । मुलुक शान्ति र एकताको युगमा प्रवेश गरेको भन्दै ओलीले मतभेदलाई बिर्षेर मुलुक निर्माणमा एकजुट हुन सबैसँग आग्रह गरे । लामो द्वन्द्वबाट मुलुक शान्तिमा प्रवेश गरेको भन्दै ओलीले अब लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्दे अगाडि बढ्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले नेपालमा शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रशंसा पनि गरे । उनले देशलाई सर्वोपरी राखेर जनताको काम गर्न पनि निर्देशन दिए । नवर्निमित प्रशिक्षण भवन दक्ष जनशक्ति तयार गर्नको लागि उपयोगि हुने ओलीको भनाई थियो ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बललाई समय सापेक्ष परिर्वतन गरीदै लगिने सरकारको लक्ष्य रहेको बताए ।सशस्त्र प्रहरी बल महानिरिक्षक सिंहबहादुर श्रेष्ठले सशसत्र प्रहरी बललाई आधुनिकीकरण गर्दे लैजानुपर्ने आवश्यकता औल्याए ।
उनले उत्कृष्ट अधिकृत उत्पादन गर्नको लागि भवन उपयोगि हुने भन्दै नेपालको गौरवको रुपमा रहेको बताए । चीन सरकारको ३ अर्ब ६० करोड रुपैयाँको लागतमा निर्माण भएको भवन निर्धारित समय भन्दा ६ महिनाअघि नै तयार भएको हो । प्रशिक्षण भवन मातातीर्थको सिरमा ३१८ रोपनी क्षेत्रफलमा बनेको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ०९:०३