देवी भण्डारी । दाङ । घोराही उपमाहानगरपालिकामा मुद्दाहरुको चाप बढ्न थालेको न्यायिक समितिले जनाएको छ । घोराही उपमहानगरपालिका नगर कार्यपालिका कार्यालयको न्यायिक निकायमार्फत अधिकांश मुद्दाहरुको संख्यामा बृदि हुदै जान थालेको घोराही उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सिता सिग्देल न्यौपानेले बताइन् ।
२०७४/०७५ को फागुन मसान्तसम्म उपमहानगरको न्यायिक समितिमा विविध शिर्षकमा ११४ वटा मुद्दाहरु दर्ता भए पनि ४७ वटा मुुद्दाहरु टुङिएको न्यायिक समितिका संयोजक न्यौपानेले बताइन् । त्यस्तै लेनदेनका २४, सम्बन्ध विच्छेदका ७, जग्गा विवादका ४२, कुलोनाला पानीको ४, घरभाडा ५, घरेलुहिंसा २०, वातावरण २ लगायलका मुद्दा रहेका छन् ।
संकल्प महिला सञ्चार संस्थाको आयोजनामा आज घोराही उपमहानगरपालिकाको कार्यालयमा भएको न्यायिक समितिका संयोजकसँगकोे छलफल कार्यक्रममा उक्त कुराको जानकारी भएको हो । छलफल कार्यक्रममा बोल्दै न्यायिक समितिका संयोजक न्यौपानेले वडा अध्यक्ष, कानूनी सल्लाहकार र न्यायिक समितिका सबैसँगको समन्वयमा छलफल हुने भए पनि पछिल्लो समय पुरुष हिंसाको संख्यामा पनि बृद्धि हुँदै जान थालेको बताइन् ।
विवादित मुद्दाको संख्यामा बृद्धि हुँदै जाँदा कर्मचारीको पूर्णरुपमा ब्यवस्थापन हुन नसक्दा पनि काममा समस्या भएको संयोजक न्यौपानेको भनाइ छ । पछिल्लो समय हिंसाको मुद्दामा २५ प्रतिशत पुरुष हिंसामा परेको मुद्दा दर्ता हुने गरेको जनाइएको छ । न्यायिक समितिमा लेनदेन, जग्गा विवाद, कुलो नालापानी,लिखित बदर, भरभाडा, वातावरण, गाली बेइज्जत, अंश, सम्बन्धबिच्छेद, कुटपिट र अन्य किसिमका मुद्दाहरु नै न्यायिक समितिमा दर्ता हुने गरेको न्यायिक समितिले जनाएको छ ।
संकल्प महिला सञ्चार संस्थाका अध्यक्ष बसुन्धरा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरु शुसीला वली, सन्ध्या रेग्मी, रोशनी मल्ल, देवी भण्डारी, सपना बोहरा, बिमला घर्ती, समिक्षा गाहा, सबिता चौधरी, शुसीला पौडेल लगायतले न्यायिक समितिका संयोजक न्यौपानेलाई दर्ता हुने घटना, प्रकृति र दर्तापछिको अवस्था लगायतका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष माया पोख्रेलको स्वागत मन्तब्य दिएकी थिइन् भने सचिव शुलोचना गौतमले सहजीकरण गरेकी थिइन् ।
।