सूचनाको शक्ति - The Power Of Information

        

महाकालीको पानी पिउन बाध्य नगरपालिकाबासी


बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीका स्थानीय बासिन्दा बर्षौंदेखि महाकाली नदीको दूषित पानी पिउदै आइरहेका छन् । गाउँमा खानेपानीको सुविधा नहुँदा आफूहरू महाकालीको दूषित पानी प्रयोग गर्न बाध्य भएको तिरखडेनीका धाना बुडालले बताए । उनले भने, ‘बर्सातको समयमा महाकालीमा भेल आएको बेलासमेत सोही पानी प्रयोग गर्न बाध्य भएका छौँ ।’
तिरखडेनीका करीव ५० घरपरिवारले खानेपानीको चरम समस्या भोगिरहेका छन् । आफूहरूलाई खानेपानीको निकै सकस भएको स्थानीयवासी जयन्ती बुडालले बताए । उनले भने, ‘महाकाली किनारका बासिन्दालाई खानेपानीकै समस्याले पिरोलेको हुन्छ ।’ महाकालीमा भेल आउँदा खानेपानी भर्न लगेका भाँडाकुँडासमेत नदीले बगाएको स्थानीय बासिन्दाले बताएका छन् ।
आफूहरू वर्षौंदेखि दूषित पानी प्रयोग गर्दै आइरहेको र अहिलेसम्म कसैले समस्या समाधान नगरेको स्थानीयवासी नारु बोहराले बताए । निर्वाचनका बेला सबै राजनीतिक दलले गाउँमा खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि कसैले पनि आफ्ना प्रतिबद्धता पूरा नगरेको स्थानीयवासीको गुनासो छ । महाकाली किनारका तिरखडेनी र सिम्तडीका बासिन्दाले खानेपानीको निकै समस्या भोग्नुपरेको स्थानीय हरिना पन्तले बताए ।
आफूहरूले सरोकारवालासँग पटकपटक आग्रह गरे पनि केही पहल नभएको स्थानीयवासीको गुनासो छ । नगरपालिकाका बासिन्दा भएर पनि आफूहरूलाई नगरवासीको अनुभूति हुन नसकेको महाकाली तटीय क्षेत्रका बासिन्दाले बताएका छन् । दूषित पानी पिउँदा विभिन्न रोगको संक्रमणसमेत देखिने गरेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ०५:२६