कैलाली । उही गाउँ । साँझ पर्न थालेको छ । मान्छेको भीड थपिँदै गयो । भीडमा प्रायः चिरपरिचित अनुहार छन् । तर, उनलाई आफ्नै गाउँ केही विरानो झैं लागिरहेको छ । मञ्चमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारीहरू तथा अन्य केही बसेका छन् । उनीहरूसँगै मञ्चमा रहेकी उनको अनुहारमा केही त्रासको भाव देखिन्छ । उनी, अर्थात् पछिल्लो समय राष्ट्रकै ध्यान तानेको ‘बोक्सी’ प्रकरणमा निर्घात कुटपिटमा परेकी १८ वर्षीया राधा चौधरी ।
यो कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ को देउकलिया गाउँ हो । अन्धविश्वास पालिरहेका गाउँलेहरूलाई साक्षी राखेर एकजना ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरी, ‘पार्वतीमाता’ भनिने किस्मती चौधरी लगायतका व्यक्तिहरूबाट निर्मम ढंगले कुटपिट तथा यातना भोगेकी राधा शुक्रबार साँझ आफ्नै गाउँमा आयोजित एक कार्यक्रममा सहभागी थिइन् । कार्यक्रममा कथित ‘बोक्सी’ प्रथा विरुद्धको एउटा चलचित्र पनि प्रदर्शन हुँदै थियो ।
फागुन २४ गते विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा राधा भने रुढिवादी मानसिकताको सिकार भएर यातना सहँदै छटपटाइरहिन् । कक्षा ११ की छात्रा उनले त्यो दिनको घटना कसरी भुल्न सकून्! सात जनाले उनकै घरबाट घिसारेर ढोंगीबाबा रामबहादुरको घरमा पुर्याए । त्यहाँ ६ घन्टासम्म उनीमाथि बर्बर प्रताडना भइरह्यो । गाउँलेहरु रमिते बनिरहे । शुक्रबार देउकलियामा तिनै अनुहारहरूमाझ राधाको सम्मान कार्यक्रम आयोजना गरिएको थियो । तर, उनको अनुहार भने भावशून्य थियो । सम्मान गरिँदा पनि उनको अनुहारमा कुनै उत्साह थिएन ।
उनै गाउँलेमाझ केही झुकेका उनका निर्दोष आँखा मानौं एउटै सवाल गरिरहेका थिए, ‘घन्टौं निर्मम ढंगले कुटपिट र दुर्व्यवहार भोग्नुपर्ने गरी मैले त्यस्तो के गल्ती गरेकी थिएँ ? घटना भइरहँदा तपाईं गाउँलेहरु त्यो कुकृत्य रोक्न किन कोही अघि सर्नुभएन ?’ घटनाको दोस्रो दिन उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पुर्याइएकी राधालाई दुई दिनपछि महिला पुनस्र्थापना केन्द्रको संरक्षणमा राखिएको थियो । उनको सम्मानमा शुक्रबार देउकलियामा आयोजित कार्यक्रममा राष्ट्रिय जागरण प्रतिष्ठानले बोक्सी प्रथाविरुद्ध जनचेतनामूलक ‘अग्निदहन’ नामक चलचित्र प्रदर्शन गरेको थियो ।
सम्मान कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विनोद घिमिरे, अधिकारकर्मीहरू उपस्थित थिए । राधालाई कैलालीका प्रमुख जिल्ला अधिकारी रिजाल, प्रहरी उपरीक्षक घिमिरे र बोक्सी प्रथाविरुद्ध जनचेतना अभियानका संयोजक कोविद शरणले संयुक्त रुपमा अभिनन्दन गरेका थिए । कार्यक्रममा राधालाई केही बोल्न अनुरोध गरियो । केही डराएको भावमा माइक समातेर सबैलाई नमस्ते गर्दै उनले आफ्नो नाम मात्र उच्चारण गर्न सकिन् । उनको गला अवरुद्ध भयो । आँखाबाट आँसु खसिरहे ।
यो माहौलमा सामुन्नेका सर्वसाधारण, सञ्चारकर्मी सबैका आँखा रसाए । राधालाई केही बोल्न फेरि अनुरोध गरिए पनि उनको वाक्य फुट्न सकेन । कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले कुरीति तथा कुसंस्कार रोक्न समाजका सबै पक्षको अहम् भूमिका रहेको चर्चा गरे । उनले बोक्सीको आरोपमा राधामाथि निर्घात कुटपिट भइरहँदा रोक्नुको सट्टा टुलुटुलु हेरेर बस्ने र ताली पिट्नेहरु पनि उत्तिकै दोषी रहेको बताए । उनले घटनामा संलग्नलाई सहयोग गर्नेहरुलाई पनि कानुनी कठघरामा उभ्याउने बताए । राधालाई निर्घाट कुटपिट गरेको आरोपमा मुख्य अभियुक्त रामबहादुर चौधरी, उनकी सहयोगी किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रकाश चौधरी, चनकला चौधरी र सितारानी चौधरीलाई पक्राउ गरी प्रहरीले मुद्धा दायर गरिसकेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक घिमिरेले बताए ।
।