सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा क्रिकेट क्रेज, मैदान अभाव


सुर्खेत । सुर्खेत जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएलगत्तै श्रीधर केसीले भनेका थिए, ‘क्रिकेटमा सुर्खेतले अब कर्णाली प्रदेशको नेतृत्व गरेर अघि बढ्छ ।’ त्यसको चार महिना बित्न नपाउँदै संघले वीरेन्द्रनगरमा पहिलो प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता आयोजना गर्यो । फागुन १९ देखि २६ गतेसम्म सञ्चालित उक्त प्रतियोगिता अध्यक्ष केसीको सोही योजना र प्रतिबद्धता कार्यान्वयनको सुरुवाती प्रयास थियो ।
पहिलो प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेर सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा केसी जति खुसी छन्, त्योभन्दा बढी सुर्खेतमा क्रिकेटप्रति देखिएको क्रेजले हौस्याएको छ । विगतमा छिटफुट रुपमा हुने क्रिकेट प्रतियोगितामा मैदानमा दर्शकको उपस्थिति नगन्य मात्रामा हुन्थ्यो । तर, यस पटक भने दर्शकको उपस्थिति दिनप्रतिदिन थपिँदै गएको केसी सम्झिन्छन् । प्रतियोगिताको फाइनल खेल हेर्न करिब दुई हजारको संख्यामा दर्शक मैदानमा पुगेका थिए ।
‘सुर्खेतमा यो संख्यामा दर्शकको उपस्थिति हुनु भनेको खुसीको कुरा हो,’ केसी भन्छन्, ‘हामीले नियमित रुपमा प्रतियोगिताहरु सञ्चालन गर्न सक्ने हो भने यो संख्या अझै बढ्नेछ ।’ सुर्खेतमा क्रिकेटप्रति देखिएको क्रेजले क्रिकेटको विकासमा समेत सघाउ पुग्ने केसीको विस्वास छ । पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सफलता पाएसँगै नेपालमा पनि क्रिकेटप्रतिको क्रेज दिनप्रति दिन बढ्दो छ । तराईका जिल्ला र शहरी क्षेत्रमा बढी मात्रामा खेलिने क्रिकेटको लोकप्रियता पछिल्लो समय पहाडी हुदै हिमाली क्षेत्रसम्म पुगिसकेको छ ।
यसैको उदाहरण हो, सुर्खेतमा आयोजित प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशका पहाडी र हिमाली जिल्ला दैलेख, जाजरकोट, जुम्ला र रुकुमबाट समेत खेलाडीहरु सहभागी हुनु । सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष केसी पनि क्रिकेटमा पछिल्लो समय बालबालिकादेखि युवाहरूको आकर्षण बढ्दै गएको बताउँछन् । जिल्लाका विभिन्न स्थानमा क्रिकेट क्लबहरू गठन भएका छन् । विद्यालयस्तरीय तथा क्लबस्तरीय क्रिकेट प्रतियोगिताहरू सञ्चालन हुने गरेका छन् । त्यसैले विगतमा भन्दा अहिले सुर्खेतमा क्रिकेट विकास भएको केसीको भनाइ छ ।
हालसम्म सुर्खेतबाट राष्ट्रियस्तरमा करिब एक दर्जन खेलाडीहरूले विभिन्न उमेर समूहमा सहभागिता जनाइसकेका छन् भने एक जनाले नेपालकै प्रतिनिधित्व गर्दै अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा पनि सहभागी भएका छन् । सुर्खेतका रविन्द्रजंग शाहीले १६ वर्ष मुनिको र १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीबाट अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा समेत प्रतिनिधित्व गरिसकेका छन् । खेलाडी रविन्द्रजंग शाही पनि नियमित रुपमा प्रतियोगिताहरु आयोजना गर्न सकेमा सुर्खेतबाट राम्रा खेलाडीहरु उत्पादन हुने बताउँछन् । ‘क्रिकेटप्रति आकर्षण बढिरहेको छ,’ उनले भने, ‘विद्यालयदेखि वडास्तरसम्मका प्रतियोगिताहरु गर्दै जिल्ला र प्रदेशस्तरका प्रतियोगिता नियमित गर्न सकेमा क्रिकेटको विकासमा महत्वपूर्ण सघाउ पुग्ने छ ।’
बालबालिकादेखि युवापुस्तासम्ममा क्रिकेट क्रेज बढ्दै गए पनि यहाँ एउटा क्रिकेट मैदान पनि छैन । ‘हामीले कालिञ्चौकस्थित मैदानलाई उपयोग गर्दै आएका छौं तर त्यो पर्याप्त छैन,’ अध्यक्ष केसी भन्छन्, ‘मैदान नै नहुँदा क्रिकेट प्रतियोगिताहरू सञ्चालन गर्न सकिँदैन । मैदानकै अभावमा खेलाडीहरूले पनि अभ्यास र प्रशिक्षण गर्न पाउँदैनन् ।’ त्यसैगरी क्रिकेटमा राज्यको लगानी नै रहेको केसीको भनाइ छ । ‘हामीसँग बजेट नै हुँदैन । केन्द्रबाट पनि बजेट पाउन मुस्किल हुन्छ भने जिल्लास्तरमा रहेका सरकारी निकायले पनि क्रिकेटमा लगानी गर्न मान्दैनन् । यसले गर्दा हामीले खेलकुद गतिविधि अपेक्षाकृत रूपमा सञ्चालन गर्न सकिरहेका छैनौं ।’ सुर्खेत जिल्ला क्रिकेट संघले आफ्नो पहिलो प्राथमिकतामा क्रिकेट मैदानलाई राखेको छ ।
‘सुर्खेतमा एउटा राम्रो क्रिकेट मैदानको आवश्यकता छ । हाम्रो पहिलो योजना भनेकै क्रिकेट मैदान बनाउनु हो,’ केसीले भने । यसका साथसाथै क्रिकेट एकेडेमी सञ्चालन गर्ने योजना पनि संघसँग छ । ‘जिल्लामा एउटा क्रिकेट एकेडेमी सञ्चालन गर्ने योजना पनि बनाएको छु’ केसीले भने, ‘एकेडेमीबाट राम्रा खेलाडीहरू उत्पादन गर्ने सोच छ । त्यसबाहेक अन्य विभिन्न गतिविधिहरू पनि सञ्चालन गर्दै जानेछौं ।’ एकेडेमी सञ्चालनका लागि अहिले जग्गाको खोजी भइरहेको समेत उनले जानकारी दिए । करिब ३० कट्ठा जग्गामा एकेडेमी सञ्चालन गर्ने योजना रहेको उनले बताए । सरकारी तथा नीजि क्षेत्रले समेत लगानी गर्ने हो भने क्रिकेटको विकासमा फड्को मार्न सकिने केसीको भनाइ छ ।

प्रकाशित मिति : ४ चैत्र २०७४, आइतवार ०२:००