सूचनाको शक्ति - The Power Of Information

        

नेपाल अब आर्थिक विकासको युगमा : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आर्थिक विकासको युगमा पार गरेको बताएका छन् । काठमाडौंमा आयोजना भइरहेको सार्क विजनेश लिडर्स कनक्लेभमा पत्रकारहरुसँग प्रतिक्रिया दिंदै संघीय संरचनाका सबै निर्वाचन सम्पन्न भएको र अबको दायित्व आर्थिक विकासमात्र रहेको बताए ।
‘हामी पूर्णतया राजनीतिक संक्रमण पार गरेर आर्थिक संक्रमणमा प्रवेश गरेका छौं,’ उनले भने, ‘यस्ता कार्यक्रमबाट नेपालले यस्तै सन्देश प्रवाहमा सहयोग पुग्छ ।’ रोजगारी सिर्जना र आर्थिक विकासको लागि निजी क्षेत्र र सरकारबीच विश्वासको वातावरण बन्नुपर्ने र त्यसको लागि कनक्लेभ सहयोगी हुने प्रचण्डले बताए ।
त्यस्तै प्रचण्डले भारत र पाकिस्तानबीचको कुटनीतिक विवाद उनीहहरुले शान्तिपुर्ण समाधान गर्नुपर्ने र त्यसको लागि नेपालले गर्नसक्नेजति सहयोगको लागि सदैव तयार रहेको बताए । नेपालमा यसअघि भारत कि चीन नजिकको कुटनीति सम्बन्ध भउको तर अब प्रो नेपाल सम्बन्धमा मात्र ध्यान दिइने र नयाँ सिराबाट पराराष्ट्र नीति संचालन गरिने उनको भनाइ थियो ।
आइतबारसम्म चल्ने कनक्लेभमा सम्बोधनका क्रममा उनले दक्षिण एशियालाई विश्वकै शान्त र समृद्ध क्षेत्र बनाउन सबैमा अपील गरे । ‘मानवीय तथा प्राकृतिक श्रोतका दृष्टिले दक्षिण एशिया धनी रहेको छ। क्षेत्रीय सामिप्यता, सांस्कृतिक समानता र विकासको चाहना उत्प्रेरक पक्ष रहेका छन्,’ सम्बोधनको क्रममा उनले भने, ‘अब दक्षिण एशियाली देशहरुबीचको आपसी एकता र सामुहिक प्रयासको खाँचो रहेको छ ।’

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार १२:४७