सूचनाको शक्ति - The Power Of Information

        

बाँके निकुञ्जमा बन्यजन्तु बढ्दै (भिडियो रिपोर्ट)


तिलक गाउँले । बाँके । दुर्लभ बन्यजन्तु बाघको संख्या बृद्धि गर्ने घोषणाका साथ तत्कालीन मन्त्रिपरिषदको कालापत्थर बैठकले २०६७ बैशाख ३० गते बाँके राष्ट्रिय निकुन्ज स्थापना गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार बाँके निकुन्ज स्थापना भएको पनि सात बर्ष बितिसक्यो ।
५५० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको बाँके राष्ट्रिय निकुन्जमा अहिले बाघको संख्यामा क्रमशः वृद्धि भइरहेको छ । हाल निकुञ्जमा ९ वटा बाघ रहेका छन् । यसले बाँके निकुन्जमा दुर्लभ बन्यजन्तु बाघको उपयुक्त बासस्थान बन्दै पुष्टि हुन्छ । बाघसँगै निकुञ्जमा बाघको आहाराजन्य प्रजाती चित्तल, बँदेल, घोरल, चौका लगायत बन्यजन्तुको वृद्धिदर पनि सोही अनुपातमा भइरहेको छ ।
नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको निकुञ्जमा हात्ती सफारी पनि सुरु भइसकेको छ । यहाँ जैविक विविधताको दृष्टिले ८ वटा इकोसिष्टम, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारीहरू, ३०० भन्दा बढी प्रकारका चराको प्रजातिहरू, ५८ प्रजातिका माछाहरू, २२ सरीसृप तथा ६ प्रकारका उभयचरहरू पाइन्छन् ।
यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारीहरू र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ चराहरू रेकर्ड गरिएका छन् । बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किलोमिटर क्षेत्रलाई समेटेर निकुञ्जसँगै यसको मध्यवर्ती क्षेत्रको पनि घोषणा भएको थियो । जसमा बाँकेका ७, दाङका ३ र सल्यानका ३ वटा साविकका गाउँ विकास समितिहरु पर्दछन् । यो निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा ठूला वन्यजन्तुको लागि एकदमै महत्वपूर्ण बासस्थानको रूपमा रहेको छ ।

भिडियो रिपोर्ट

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार १०:१५