सूचनाको शक्ति - The Power Of Information

        

अर्बौ रुपैयाँ खर्चेर आफ्नै भू–उपग्रह बनाउँदै नेपाल


काठमाडौं । नेपालले अर्बौ रुपैयाँ खर्चेर आफ्नै भू–उपग्रह बनाउने भएको छ । विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले आफ्नै भू–उपग्रह बनाउने गृहकार्यसहित तीन जना नेपाली विद्यार्थीलाई जापानमा पढ्न पठाउने भएको छ । तीन विद्यार्थीमध्ये एक जना विद्यार्थी जापानको क्युस इस्टिच्युट अफ टेक्नोलोजीमा (क्युटेक) अध्ययनका लागि गइसकेका छन् । बाँकी दुई जनाको लागि छात्रवृत्ति खोजिँदै छ ।
नेपालमा भू–उपग्रहका विषयमा जानकार नभएकाले उनीहरूलाई अध्ययनका लागि जापान पठाउन लागिएको हो । अध्ययनका लागि तीन जना पठाउने भनिए पनि खर्च जोह गर्न नसकेपछि पछिल्लो समय दुई जनालाई मात्रै अध्ययन गराएर भए पनि नेपालको सपना पूरा गर्न नास्ट लागिपरेको छ । एक जनालाई पूर्ण छात्रवृत्ति दिने भए पनि अर्को जनाको लागि भने खर्चको जोह गर्नुपर्ने भएको छ । दुई विद्यार्थीलाई भू–उपग्रह सम्बन्धी अध्ययन गर्नका लागि हार्डवेयरको मात्रै एक करोड ४२ लाख रुपैयाँ लाग्ने भएको छ ।
सो रकम अर्थ मन्त्रालयले दिइसकेको विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सुरेन्द्र सुवेदीले बताए । अन्य खर्च गर्न यो रकमले पुग्दैन । अध्ययनका लागि धेरै खर्च लाग्ने भएकाले नास्ट र मन्त्रालय खर्चका लागि जापान सहयोग नियोगसँग सहयोग मागिरहेको सुवेदीले बताए । अब छिट्टै खर्चको जोरजाम गरेर अर्को इन्जिनियर पनि जापान पढ्न जाने तरखरमा छन् । उनीहरूले दुई वर्षसम्म क्युटेकमा अध्ययन गरेर नेपाल आएपछि भू–उपग्रह निर्माण कार्य शुरू गर्नेछन् । पछिल्लो समय अन्तरिक्षमा विश्व नानो उपग्रहको उपस्थिति बढ्दो छ ।
सोही अनुरुप नेपालले पनि यस्तै सानो साइजको उपग्रह अन्तरिक्षमा राख्न यो पहल गरेको हो । सानो आकारको भू–उपग्रहबाट पनि डाटा संकलन र अन्तरिक्षबाट तस्वीर खिच्न सकिने छ । भू–उपग्रहको ६० वर्षे इतिहासमा नेपालको उपस्थिति ऐतिहासिक मानिने छ । यो भू–उपग्रह १० किलोभन्दा कम तौलको हुनेछ । भू–उपग्रह निर्माणका लागि विद्यार्थी अध्ययन गर्न जाँदै गर्दाको अवस्थामै भू–उपग्रह निर्माणका लागि नास्टले जापानको एक कम्पनीसँग सम्झौतासमेत गरिसकेको छ । खर्च कति लाग्छ भनेर अहिलै भन्न नसके पनि सानो उपग्रह बनाउन पनि अर्बौ खर्च हुने नास्टको अनुमान छ ।

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार ०९:१९