सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा स्वतन्त्रताको परिभाषा ठीकसँग भएको छैन : रेशम विरही


साहित्यिक यात्रामा चार दसकभन्दा लामो समय क्रियाशील रेशम विरहीको नयाँ कवितासंग्रह ‘तुरूप’ प्रकाशनमा आएको छ । यसअघि छ वटा कविता संग्रह ल्याइसकेका उनका जम्मा नौ थान किताब प्रकाशित छन् । गत वर्ष आएको उनको उपन्यास ‘प्रेमदासको डायरी’ले निकै चर्चा बटुलेको थियो । उनी पत्रकारितामा पनि उत्तिकै सक्रिय छन् । नयाँ कवितासंग्रह तुरूप, उनको साहित्यिक यात्रा र समकालीन कविताबारे पत्रकार निर्भीकजंग रायमाझीले गरेको कुराकानीको सम्पादित अंश :

अहिलेको समकालीन नेपाली कविताको आम प्रवृत्तिलाई कसरी लिनुहुन्छ ?
– अहिले कविता दुई धारबाट गइरहेको छ । एउटा बहुप्रचारित । अर्को, राम्रो र शक्तिशाली कविता । राम्रो लेख्नेहरू भने ओझेलमा छन् । यो बजारका हिसाबले भयो । लेखन हिसाबले भन्ने हो भने अमूर्त लेख्नु नै कविता हो भन्ने एउटा धार छ । त्यस्तै आममानिसले बुझ्ने गरी लेख्नुपर्छ भन्ने धारणा पनि छ । फेरि यही समयमा धेरै राम्रा कविले एकसाथ लेखिरहेका छन् । यो निकै राम्रो पक्ष हो ।

तपाईंले जीवनमा राजनीति पनि गर्नुभयो । राजनीति र साहित्य अथवा राजनीति र कविताको खास सम्बन्ध के रहन्छ ?
– कविताभित्र राजनीति आउनु एकदम स्वभाविक हो । कविता वा साहित्य मानिसको मस्तिष्क रन्थनाउने कला हो । यो एकजना समालोचकले भन्नुभएको कुरा हो । कविता भनेको साहित्यका लागि मात्र होइन नि । जीवनको लागि हो । आम मानिसको लागि हो । हामीले साहित्यका जुनसुकै विधा लेखेपनि सबै परिवर्तनको लागि हो । यस्तो परिवर्तन जसले मानिसलाई भित्रबाटै झकझकाओस् । परिवर्तन भन्नाले राजनीतिक परिवर्तन मात्र होइन, सामाजिक अग्रगमन, सभ्यता पनि त्यसभित्र पर्छन् ।

औपचारिक तथा अनौपचारिक जमघटमा तपाईं आफूलाई मनपर्ने साहित्यकारको कुरा गरिरहनुहुन्छ । तपाईंलाई लेखनको प्रारम्भिक कालदेखि प्रभाव पारेका लेखक को हुन् ?
– सुरूमा मलाई प्रभाव पारेको विलियम वर्डस्वर्थको ‘लुसिग्रे’ कविताले हो जुन हामीले विद्यालयमा पढ्नुपथ्र्यो । त्योभन्दा अघि मलाई पनि आममानिसलाई झैं रामायण, स्वस्थानी, भागवत गीता जस्ता आध्यात्मिक साहित्यले प्रभाव पारको हो । मेरो बुबाले देवीभागवत पढ्नुहुन्थ्यो, आमाले रामायण । त्यसले पनि म प्रभावित भएँ । पछि विद्यालयमा जनकलाल शर्मा, कृष्णदेव मल्लको प्रभाव पर्यो । बिस्तारै रवीन्द्रनाथ टैगोर शरचन्द्र चटोपाद्याय, भगतविचरण बर्माको प्रभावले मलाई लेख्नुपर्छ भन्ने महसुस भयो ।

यहाँले पत्रकारितामा पनि लामो समय बिताउनुभयो । अहिले हामी उच्चतम प्रेस स्वतन्त्रता यूगमा छौं । हामीले यो संविधान प्रदत्त स्वतन्त्रतालाई उपयोग गर्न सकेका छौं कि छैनौं ?
– सर्वप्रथम त हामीले स्वतन्त्रताको परिभाषा के हो भन्ने नै स्पष्टसँग बोध गर्नुपर्छ । नेपालमा स्वतन्त्रताको परिभाषा ठीकसँग भएको छैन । बेलामौकामा राज्यले स्वतन्त्रतामा अंकुश लगाउन त खोजिहाल्छ । तर त्यो अंकुश तोड्ने काम प्रेसकै हो । महासंघदेखि लिएर प्रेस स्वतन्त्रताको हकहितमा लाग्ने सबै निकाय पारदर्शी हुनुपर्यो । आफूभित्रको वातावरण स्वत्रन्त्र हुन नदिने अनि बाहिर चाहिँ स्वतन्त्रता खोज्ने हिँड्ने कुरा हास्यास्पद हो ।

पञ्चायतकालीन पत्रकारिताको पनि तपाईं साक्षी हुनुहुन्छ । त्यसबेलाको पत्रकारिता र समग्र पद्धति कस्तो थियो ?
– त्यसबेला निजी क्षेत्रबाट निस्कने प्रतिध्वनी, संरक्षक भन्ने पत्रिका चर्चामा थिए । तर त्यो बेला कस्तो गजब थियो भने पञ्चहरूमा नै दुई तीनवटा गुट थियो । ती गुटका बीचमा सत्ताको खेलले गर्दा सधैं टकराव हुन्थ्यो । पञ्चायती व्यवस्थाको खासै विरोध नगरे पनि ती गुटगुटका पत्रकारहरूले सत्तामा बस्नेको खेदो खन्थे । यसरी कित्ता कित्तामा विभाजित थियो त्यो बेलाको पत्रकारिता ।

तपाईं मूलत कवि हनुहुन्छ । बीचमा अनेक कामको शिलशिलामा रेशम विरही मूलधारबाट हरायो भन्ने कुराकानी चलेको थियो । अहिले तपाईंको सक्रियता फेरि मूलधारमा फर्कने संघर्ष हो र ?
हैन, म मूलधारमा आउन खोजेकै होइन । काठमाडौं आएर बसोबास गर्दैमा म मूलधारमा आउन खोजेको अर्थ लगाउन भएन । विगत पाँच वर्षयता राष्ट्रिय दैनिकमा बारम्बार लेखिरहेको छु । त्यसअघि पनि लेख्थेँ तर अहिले लेखनको रफ्तार बढेको हो ।

साहित्यिक जीवनमा धेरै उतारचढाव, अन्तरद्वन्द्व आए होलान् । आफ्नो यो यात्राबारे समीक्षा कसरी गर्नुहुन्छ ?
– कविता लेख्ने भनेकै कुनै पनि परिवेशले छोएपछि हो । मलाई पनि सानैदेखि विभिन्न विषयवस्तुले छोएपछि केही लेख्ने प्रयत्न गर्थेँ । यसकारण मूलधारमा आउन कोशिस नगरेपनि म मूलधारमा नै छु । नेपाली साहित्यमा काठमाडौं बसेर हल्लाबाजी नगरे पनि म साहित्य केन्द्रमै छु । यसबीचमा मैलै चार पाँच सय कविता लेखेँ हुँला । कतिपय कविता त यतिकै फालिदिएको छु । सबै छाप्ने कुरा पनि आउँदैन । यसैले फर्केर हेर्दा म आफ्नो साहित्यिक यात्राबाट खुसी छु । पछिल्लो केही वर्षमा त नियमित रुपमा पुस्तक प्रकाशन भइरहेको छ । यसकारण म मोफसलमा बसेर लेखिरहे पनि केन्द्रले खोजेर पढेको छ मलाई । मेरा पाठकहरूले खोजीखोजी प्रतिक्रिया दिइ नै रहेका छन् ।

‘तुरूप’ तपाईंको प्रतिनिधि कविताको संगालो हो वा बिलकुल नयाँ कविता छन् ? संग्रहबारेको अभिमत बताइदिनुहोस् न ?
– यसमा प्रकाशकले नलेखे पनि यो मेरो जीवनको प्रतिनिधि कविताकै संगालो हो । यसमा समावेश कविता मैलै खण्डखण्ड गरेर राखेको छु । पहिलो खण्ड ‘समयको सकसमा समय’ भन्नेमा राखिएका सबै कविता गणतन्त्रपछि लेखिएका हुन् । त्यसैले यस खण्डमा यही समयको स्वर छ । ‘तुरूप’ बारे भन्नुपर्दा यसमा कूल ५५ वटा कविता छन् । मैलै यिनलाई पाँच खण्डमा विभाजित गरेको छु । मलाई निकै मन परेका केही कविका पङ्कित पनि यसमा छन् ।

कविता लेखिरहेको मान्छे आख्यानतिर आउनुभयो । त्यसैबीच तपाईंको निबन्धसंग्रह पनि आयो । कवितामात्र लेखेर आफूलाई साहित्यमा सुरक्षित महसुस नगर्नुभएको हो ?
– म कुनै सुरक्षा वा हाइप्रोफाइलमा पुग्न लेखेकै होइन । विद्यालय पढ्दा नै मैले विद्यालयस्तरीय निबन्धमा जिल्ला प्रथम भएको छु । त्यतिबेला लामो समयसम्म निबन्ध लेखेँ । साहित्यको विविध विधामा लेखेको छु र अझै पनि लेखिरहेको छु । प्रकाशन आधारमा यो मात्र किन लेखेको यो किन नलेखेको भन्ने चलन छ यहाँ । मेरो अघिल्लो उपन्यास ‘प्रेमदासको डायरी’ पहिला काव्य थियो । चालिस वर्ष अगाडि आन्दोलनमा गोली चलेर एकजना मान्छे मरेपछि महाकाव्य लेख्ने सोच थियो । तर जब देशमा जनयुद्ध सकियो, यति सशक्त विषयवस्तुमा केही कथानक थपेर आख्यान लेख्दा राम्रो हुन्छ भन्ने सोचेँ । अनि ‘प्रेमदासको डायरी’ नाम दिएर उपन्यास लेखेको हुँ ।

तपाईं युवा पुस्तासँग एकदमै नजिक हुनुहुन्छ । यही कवितासंग्रहमा पनि युवा निबन्धकार दीपक सापकोटाको प्रमुख मन्तव्य छ । नयाँ पुस्तासँग तपाईंले कस्तो सम्भावना पाउनुभएको छ र उनीहरूलाई तपाईंको सम्बोधन के छ ?
– अहिलेको युवापुस्ताले लेखेको विषयमा म धेरै आशावादी छु । जस्तो देवकोटा, रिमाल, भूपी शेरचन, वाशु शशीहरूको एउटा काल थियो । यस पछि मेरो पुस्ता छ । मेरो पुस्तालाई अब आउने नयाँ पुस्ताले उछिन्ने छ । अहिलेको प्रवधि र पाठ्यसामाग्रीले पनि नयाँ पुस्ता अगाडि छ । यसमा कमजोरी पनि देखेको छु । नयाँ पुस्ताका केहीकेहीमा अध्ययन कमी छ । आफ्नो अन्तरहृदयबाट गम्भीर अनुभूति नभइकनै लेख्ने परिपाटी छ । गम्भीर चिन्तन, मनन, अभ्यास र साधना गरे यो पुस्ताले साहित्यमा ठूलो विरासत बनाउने छ । म यसमा विश्वस्त छु । –सेतोपाटीबाट

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार ०९:०८