सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीको सरकारलाई खानेपानीको जिम्मा


सुर्खेत । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था सञ्चालनको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । वीरेन्द्रनगरमा संस्थाको १७औँ साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै मन्त्री खत्रीले संस्था एक्लैले वीरेन्द्रनगरमा खानेपानीको संकटको सामना गर्न नसक्ने भएकाले यसको नेतृत्व सरकारले लिनुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले संस्थालाई आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताए । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरमा खानेपानी व्यवथापनका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिबद्धता जनाए । यसैबीच मन्त्री खत्रीले भेरी बबई डाइभर्सन आयोजना सुर्खेती जनताका हितमा नभएको बताएका छन् ।
भेरीको पानी बर्दिया लगी त्यहाँ सिँचाइ गरिने र उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएकाले सुर्खेती जनताको हितमा नभएको उनको भनाइ थियो । मन्त्री खत्रीले आयोजनाले सुर्खेत जिल्लाका नागरिकलाई शेयर दिनुपर्ने र प्रभावित क्षेत्रका जनतालाई आवश्यक मुआब्जासमेत दिनुपर्ने बताए । मन्त्री खत्रीले सबै जनप्रतिनिधिले ‘ओख्तो’ मदिरा नखाने संकल्प गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार ०२:२४