सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक विकृतिविरुद्ध प्रहरी अभियान


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक विकृतिका विरुद्ध विभिन्न अभियान थालेको छ । शुक्रबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जिल्लामा सबैभन्दा लागुऔषध दुव्र्यसनको समस्या रहेको बताए ।
उनले भने, ‘घरेलु हिंसाका कारण लोकल मदिरा भएकाले यसको नियन्त्रणका लागि प्रहरी गस्ती परिचालन गरेका छौँ ।’ साउनयता लागुऔषधका १८ मुद्दा दर्ता भएको र २८ अभियुक्त पक्राउ परेको कार्यालयले जनाएको छ । आठ महिनामा जिल्ला प्रहरी कार्यालयमा पछिल्लो आठ महिनाको अवधिमा विभिन्न प्रकृतिका २६६ मुद्दा दर्ता भएका छन् ।
त्यसैगरी चालु आर्थिक वर्षमा १५४ महिला तथा बालबालिका हराएकामा १०० जनालाई फेला पाएिको छ भने ५४ जना फेला पर्न बाँकी रहेको तथ्यांकमा उल्लेख छ । यस्तै आठ महिनाका अवधिमा ट्राफिक नियम उल्लंघन गरेकाले आठ हजार ७११ जनालाई कारवाही गरिएको र करीव ५१ लाख ३६ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालयमा अझै पनि २० वर्ष पुरानै दरबन्दीमा काम गर्नुपर्दा आपराधिक गतिविधि नियन्त्रण गर्न चुनौती थपिएको कार्यालयले जनाएको छ ।नगरपालिकामा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १०० र गाउँपालिकामा प्रहरी निरीक्षकको नेतृत्वमा ७५ प्रहरी जनशक्ति व्यवस्थापन गर्नुपर्ने चतुर्वेदीले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार ०२:२३