सूचनाको शक्ति - The Power Of Information

        

चिम्नीको तातो हावाबाट विद्युत् उत्पादन गर्दै अर्घाखाँची सिमेन्ट


काठमाडौं । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । उद्योगले नेपालमै पहिलोपटक उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर ४ मेगावाट विद्युत् उत्पादन गर्न लागेको हो ।
करिब ३ महिनाभित्र साढे दुई मेगावाट विद्युत् उत्पादन शुरु हुने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योग सञ्चालक पशुपति मुरारकाले बताए । अहिले उद्योगमा मेसिन जडान कार्य भइरहेको उनले जानकारी दिए । शुरुमा साढे दुई मेगावाट विद्युत् उत्पादन गर्ने र पछि पुनः साढे एक मेगावाट विद्युत् क्षमता थप गर्ने तयारी भइरहेको उनले बताए ।
‘उद्योगको चिम्नीबाट निस्कने तातो हावाबाट विद्युत उत्पादन गर्ने भएकोले यसमा कच्चा पदार्थ लाग्दैन,’ उनले भने ‘खाली मेसिन जडान गरे पुग्छ ।’ जापान, चीनलगायतका देशमा यस्ता उद्योगबाट निस्कने तातो हावाबाट विद्युत् उत्पादन गरिसकिएको छ । नेपालमा भने मैले पहिलोपटक प्रयोगमा ल्याउन लागेको हुँ,’ उनले थपे ‘यसमा एक्कै पटक जडान लागत लागे पनि पछि लगानी गरिरहनु पर्दैन ।
सो कारण दैनिक खर्च जोगिन पुग्छ । सुधारिएको स्टिम इन्जिन प्रणालीबाट विद्युत् उत्पादन गर्ने प्रणालीको जडानका लागि चीनबाट मेसिन र यसका उपकरण ल्याएको मुरारकाले बताए । सरकारले थर्मल ऊर्जा प्रणालीबाट विद्युत् उत्पादनको प्रक्रिया शुरु गरेको भए पनि खेर गएको हावाबाट विद्युत् उत्पादन गर्ने प्रणाली पहिलोपटक शुरु हुन लागेको हो ।
उद्योगमा खेर गएको तातो हावालाई प्रयोग गरेर विद्युत् निकाल्ने प्रणाली जडान गर्न लागिएकाले अन्य सिमेन्ट उद्योगलाई समेत यसबाट थप प्रेरणा मिल्ने उनको भनाइ छ । चीनमा वाष्प प्रविधिबाट ठूलो मात्रामा बिजुली उत्पादन गरिएको छ । उद्योगबाट निस्किएको तातो हावाले ‘स्टिम इन्जिन’ चलाउने र त्यसरी घुमेको इन्जिनले विद्युत् उत्पादन गर्ने प्रणालीलाई ‘वेस्ट हिट रिकभरी युनिट’ नाम दिइएको छ ।

मासिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन
दैनिक २० मेगावाट विद्युत् खपत गर्दै आएको उद्योगले अब छिट्टै उत्पादन क्षमता पनि बढाउँदै छ । हाल भएको दैनिक एक हजार दुई सय क्षमतालाई बढाएर उद्योगले दैनिक तीन हजार मेट्रिक टन पुर्याउन लागेको हो । उत्पादन क्षमता बढेपछि विद्युत् खपत पनि त्यहीअनुसार बढ्ने भएकाले पनि विद्युत् उत्पादनको विकल्प खोज्दै जाँदा यो प्रविधि नेपालमा भित्र्याएको उनले बताए ।
पानीबाट निस्कने विद्युत् र उद्योगबाट निस्कने हावाबाट निस्कने विद्युत् उत्पादन लागत उस्तै भए पनि आफैंले उत्पादन गरेको विद्युत् नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्न नपर्ने हुनाले सस्तो पर्न जाने उनले बताए । हाल नेपालमा प्रतिमेगावाट विद्युत् उत्पादन गर्न १८ करोड रुपैयाँ लागत लाग्ने देखिएको छ । मुरारकाले पनि नयाँ प्रविधिबाट विद्युत् उत्पादन गर्दा त्यसैको हाराहारीमा खर्च हुने बताए ।
‘अर्घाखाँची सिमेन्टको माग बढेको छ, ठूला–ठूला पूर्वाधार निर्माण परियोजनाबाट माग आउन थालेपछि उत्पादन क्षमता वृद्धि गर्न लागेको हौं,’ मुरारकाले भने, ‘दशैसम्म उत्पादन क्षमता बढाउने कार्य योजनासहित अघि बढे पनि विविध कारणले उत्पादन ढिला हुन गयो ।’ उत्पादन क्षमता वृद्धिको लागि कम्पनीले ४ अर्ब १३ करोडभन्दा बढीको लगानी थप गर्न लागेको उनले बताए ।
‘थप लगानी गर्ने क्रममा उद्योगको प्रवद्र्धकहरुले १ अर्ब २४ करोड रुपैयाँ थप लगानी गर्ने र बाँकी रकम बैंकहरुबाट कर्जा लिएर लगानी गर्दैछौं,’ उनले भने । मुराकाका अनुसार नयाँसहित कम्पनीमा कुल लगानी करिब ७ अर्ब रूपैयाँ पुग्ने छ । वार्षिक कारोबार १३ अर्ब रूपैयाँभन्दा बढी हुनेछन् । उद्योगमा कर्जा लगानी गर्न नबिल बैंकको नेतृत्वमा एनआईसी एसिया बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, सानिमा बैंक र सेन्चुरी बैंकसँग २ अर्ब ८९ करोड कर्जा सम्झौता भइसकेको उनले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार ०२:१२