सूचनाको शक्ति - The Power Of Information

        

कार्गो शुल्क वृद्धि गरेकोमा व्यवसायीको विरोध

काठमाडौं :  नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले आयातनिर्यात गरिने माल सामानहरुको कार्गो प्रबन्ध शुल्क वृद्धि गरेकोमा नेपाल चेम्बर अफ कमर्सले विरोध गरेको छ । निजी क्षेत्रसँग परामर्श नै नगरी वृद्धि गरिएको शुल्क तत्काल फिर्ता लिन चेम्बरले आग्रहसमेत गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले बिहीबारदेखि लागू हुने गरी शुल्क वृद्धि गरेको हो । चेम्बरले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शुल्कवृद्धिको विरोध गरेको हो । नेपाल चेम्बर अफ कमर्सबाट विगतमा सरोकारवाला सबै निकायहरुको छलफल गरी निजी क्षेत्रको सुझाव तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमक्ष र यस सम्बन्धमा गठित कार्गो प्रबन्ध सेवा दस्तुरसम्बन्धी उपसमितिका संयोजकलाई प्रस्तुत गरेको स्मरणीय गराउँदै चेम्बरले शुल्क वृद्धि व्यावहारिक नभएको जनाएको हो । नेपालको निजी क्षेत्रको कुनै पनि प्रतिनिधिमूलक संस्थासँग परामर्श तथा समन्वय नगरी एकतर्फी ढङ्गले शुल्क वृद्धि गरिएको र प्रस्तुत शुल्क वृद्धिले निर्यात व्यापार घटिरहेको अवस्थामा निकासी हुने वस्तुमा लागत वृद्धि हुन गई अन्तर्राष्ट्रिय बजारमा नेपाली मालवस्तुको प्रतिस्पद्र्धात्मक क्षमतामा ह्रास हुने भई व्यापार घाटा अझ बढ्न जाने विज्ञप्तिमा उल्लेख छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गत बैशाखमा पनि शुल्कबृद्धि गर्दा निजी क्षेत्रले विरोध गरेको थियो । एकतर्फी रुपमा नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले आफूखुसी शुल्क वृद्धि गरेको भन्दै आयात निर्यातसँग सम्बन्धित १४ ओटा संस्थाले आयात निर्यातका सबै काम ठप्प पारेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार १५:५३