सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीको राजधानी सुर्खेतमा दैनिक २७ लाख लिटर पानी अभाव


सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले दैनिक १ करोड १० लाख लिटर पानी उपलब्ध गराइरहेको छ । तर, यहाँका डेढ लाख जनसंख्याका लागि भने यो पर्याप्त छैन । जनसंख्याको चाप दिन प्रतिदिन बढ्दै गइरहेको प्रदेश राजधानीमा पानीको अभाव बढ्दै गएको छ ।
वीरेन्द्रनगरमा अहिले नै प्रतिदिन २७ लाख लिटर पानी अपुग छ । गर्मीयाम सुरु भएसँगै दैनिक ४५ लाख लिटर पानी अपुग हुने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको आँकलन छ । जनसंख्याको चाप बढेसँगै खानेपानी अभावको समस्या थप चर्को हुँदै जाने देखिन्छ । खानेपानीका अन्य पर्याप्त स्रोत नहुँदा र सुर्खेतमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी पुर्याउन नसक्दा उपभोक्तालाई समस्या भएको छ ।
सुर्खेत उपत्यकामा करिब २० वर्षसम्मका लागि पर्याप्त पानी वितरण गर्न सकिने लक्ष्यसहित झुप्रा बृहत् खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आयोजना सञ्चालनमा ल्याएको थियो । संस्थाले झुप्रा बृहत् आयोजना २०५६ सालबाट निमार्ण सुरु गरेर २०६७ सालबाट पानी वितरण सुरु गरेको थियो । बढ्दो जनसंख्यालाई आँकलन नगरी २० वर्षका लागि पर्याप्त पानी पुर्याउने संस्थाको लक्ष्य तीन वर्ष नबित्दै असफल हुन पुग्यो ।
पानी वितरण सुरु गरेपछि २० वर्ष पानीको समस्या नहुनेमा ढुक्क भएका वीरेन्द्रनगरबासी ३ वर्ष नपुग्दै खानेपानीको अभावबाट ग्रसित हुन पुगे । झुप्रा खोलाको पानीलाई शुद्ध गरेर सुर्खेत उपत्यकामा पानी वितरण गरे पनि उपभोक्ताको माग अनुसार आपूर्ति हुन सकेको छैन । हरेक वर्ष गर्मी समयमा यहाँका उपभोक्ताले खानेपानीको समस्या झेल्दै आएका छन् ।

दुई वर्षभित्र भेरीको पानी
प्रदेश राजधानी वीरेन्द्रनगरको खानेपानीको संकट टार्नका लागि भेरी नदीको पानी लिफ्ट गरेर उपत्यकामा ल्याउने योजना अघि साएिको छ । यसका लागि विस्तृत सम्भाव्यता अध्ययन समेत भइसकेको छ । आयोजनाका प्रमुख डम्बर गौतमले भेरीबाट लिफ्ट गरेर प्रतिसेकेन्ड ७ सय लिटर पानी उपत्यकामा ल्याउनेगरी अध्ययन भएको जानकारी दिए ।
उनले उपत्यकाको खानेपानी अभाव टार्न भेरीको पानी ल्याउनुको विकल्प नभएको जनाए । आयोजनाका अध्यक्ष कूलमणि देवकोटले चालू आर्थिक वर्ष्भित्रै भेरी लिफ्टिङ खानेपानी आयोजनाको टेन्डर आह्वान गर्ने तयारी गरेको जानकारी दिए । ‘तत्काल यो आयोजनाको डिपिआरको तयारी हुँदैछ,’ देवकोटाले भने, ‘अबको २ वर्षभित्र कुनै पनि हालतमा भेरीको पानी उपत्यकामा ल्याउनेछौं । यसका लागि संस्था पूर्णरूपमा कसरत गरिरहेको छ ।’

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार ०९:४८