सूचनाको शक्ति - The Power Of Information

        

आरोहणमा सहयोगी हातहरुको खाँचो छ : पाण्डे


काठमाडौं । अप्रिल पहिलो साता सुरु हुने आफ्नो दुई महिने सगरमाथा आरोहण अभियानमा सहयोग पुर्याउन आरोही प्रकाशराज पाण्डेले इच्छुक व्यक्ति, विषयगत संघसंस्था, स्थानीय निकाय र राजनीतिक दलहरु र तिनका भातृ सङ्ठनहरुसँग अपिल गरेका छन् । २६ वर्षीय पाण्डेले यसअघि नै तीन पटक अग्ला शिखरहरुको आरोहण गरिसकेका छन् ।
सन् २०१६ र १७ मा गरी दुई पटक रसुवाको लाङटाङस्थित ५ हजार ८९० मिटर अग्लो ‘बेडेन पावेल स्काउट पिक’ आरोहण गरिसकेका पाण्डेले सन् २०१७ मै सोलुखुम्बुस्थित ६ हजार १६० मिटर अग्लो ‘आइल्याण्ड पिक’ समेत सफलतापूर्वक आरोहण गरिसकेका छन् । यसपटक ८ हजार ८४८ मिटर अग्लो विश्वकै सर्वोच्च शिखर सगरमाथा चुम्ने अभियानमा रहेका प्रकाशराजले आफ्नो अभियानलाई ‘रिबिल्डिङ स्कुल अफ नेपाल’ नाम दिएका छन् ।
अभियानमा सहयोग, समर्थन र शुभेच्छा जुटाउने क्रममा न्यूज कारोबार कार्यालयमा आइपुगेका पाण्डेले भने, ‘नेपालका कुनै पनि बालबालिकाले पढाइबाट वञ्चित हुनु नपरोस्, भूकम्पबाट क्षतिग्रस्त देशभरका विद्यालयहरुको तत्काल पुनर्निर्माण होओस् र समग्र नेपालको पर्यटन क्षेत्रको विकासमा योगदान पुगोस् भन्ने उद्देश्यलाई केन्द्रमा राखेर मैले आफ्नो अभियानलाई यसरी नामकरण गरेको हुँ ।’
सगरमाथा आरोहण पूरा गर्न आवश्यक पर्ने सामग्री, उपकरणलगायतका विस्तृत खर्च विवरण, यसअघि आफूले गरेका काम र आफूबारे सञ्चारमाध्यमहरुमा आएका सामग्री संलग्न प्रोफाइलसहितको पुस्तिका नै बोकेर आएका पाण्डेले अभियानमा ५० देखि ५५ लाख रुपैयाँ खर्च हुने बताए । विभिन्न निकाय, व्यक्ति र सङ्घ–संस्थाद्वारा प्राप्त सहयोगबाट करिव ४० प्रतिशत जुटिसकेको बताए ।
पाण्डेले भने, ‘आरोहणको समय नजिकै आइसक्यो तर झन्डै ६० प्रतिशत खर्च जुटाउन बाँकी नै भएकाले अलिक तनावको स्थिति सिर्जना भएको छ । मेरो आरोहण सफल हुँदा रामेछाप जिल्ला र जिल्लावासीको गौरव बढ्छ ।’ पाण्डेले आफू रामेछापको नागरिक भएकाले रामेछापकै विकास, समृद्धि र पर्यटन क्षेत्रको विकासमा बढी मेहनत गर्ने बताए ।
पाण्डेले भने, ‘त्यसैले रामेछापबाटै ३ नं. प्रदेशको अर्थमन्त्री बन्नुभएका कैलाशप्रसाद ढुङ्गेल, सङ्घीय संसदको सांसद बन्नुभएका पूर्वराज्यमन्त्री श्यामकुमार श्रेष्ठ ‘कुशल’, प्रदेशसभाका सांसद शान्तिप्रसाद पौडेल, रिता माझी, सदरमुकाम नगरपालिका मन्थलीका मेयर रमेशकुमार बस्नेत, रामेछाप नगरपालिकाका मेयर नरबहादुर थापा र ६ वटै गाउँपालिकाका प्रमुख–उपप्रमुखहरुले आ–आफ्नो ठाउँबाट समुचित सहयोग जुटाइदिएर मेरो समस्या समाधान गरिदिनु हुनेछ भन्नेमा म विश्वस्त छु ।’
‘म कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको स्वतन्त्र व्यक्ति हुँ त्यसैले सबैबाट सहयोग पाउनेमा आशावादी छु,’ पाण्डेले भने, ‘पर्यटन तथा सगरमाथा आरोहणसम्बन्धी सरकारी निकाय, हाल मेरो बसोवास रहेको ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुखज्यूलगायतका सम्पूर्ण पदाधिकारीहरू, केन्द्रीय सङ्घ–संस्था र जिल्लास्थित राजनीतिक दल, संघसंगठन र क्लबहरुबाट पनि पर्याप्त सहयोग जुट्नेछ भन्ने कुरामा पनि म उत्तिकै विश्वस्त छु ।’

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार ०८:४५