सूचनाको शक्ति - The Power Of Information

        

रसुवागढी र साञ्जेनको शेयर कति पर्ला ?


काठमाडौं । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित आइपीओमा आवेदन रकम ६ गुणा बढी भए पनि कम सञ्चयकर्ता मात्रै सहभागी भएकाले बढी आवेदन गर्नेले बढी शेयर पाउने सम्भावना रहेको छ । दुवै कम्पनीमा धेरै लगानी गर्ने अर्थात् ८० हजार बराबरको आवेदन गर्नेलाई न्यूनतम ७० कित्तादेखि १०० कित्तासम्म शेयर पर्ने सम्भावना रहेको छ ।
कर्मचारी सञ्चय कोषका कार्यवहाक प्रमुख प्रशासनक दीपक रौनियारले पनि ती आयोजनामा सञ्चयकर्ता सबैले शेयर पाउने र बढी आवेदन गर्नेले बढी शेयर पाउने सम्भवना रहेको बताए । उनले भने सबै आवेदकलाई शेयर दिने ढंगले तयारी गरिएको छ । सेन्ट्रल आस्बा प्रणाली अर्थात् सी–आस्बा लागू भएका कारण सम्भवतः आइतबार रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित साधारण शेयर (आइपीओ) बाँडफाँड गर्ने तयारी गरिएको छ ।
नेपाल धितोपत्र बोर्डसँग छलफल भइरहेको हुँदा एक÷दुई दिनमा नै शेयर बाँडफाँड गर्ने तयारीमा आफूहरु रहेको रसुवागढी हाइड्रोपावर लिमिटेडका प्रमुख माधव कोइरालाले जानकारी दिए । गत फागुन ११ देखि ३० गतेसम्म आवेदन दिने म्याद राखेर सञ्चयकर्तासँग आवेदन माग गरिएको शेयर वितरणमा लामो समय लगाउनु हुँदैन भन्ने मान्यतामा कम्पनी रहेको छ । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख कोइरालाका अनुसार कुल ६ अर्ब ६२ करोड ८ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो ।
यस्तै साञ्जेन जलविद्युत् कम्पनीको ४ अर्ब १७ करोड २२ लाख ५३ रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीका प्रमुख किरण श्रेष्ठका अनुसार एक लाख ८३ हजार २३५ जनाले आवेदन दिएका छन् । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख कोइरालाका अनुसार कूल ६ अर्ब ६२ करोड आठ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो । कुल एक लाख ८६ हजार ३२४ जनाले आवेदन गरेको जानकारी प्राप्त भएको आयोजनाले जनाएको छ ।
कम्पनीले १ अर्ब ६४ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १ अर्ब ३३ करोड ४२ लाख हजार रुपैयाँ बराबरको एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयर छुट्याइएको थियो । कम्पनीका संस्थापक संस्थाका लागि भने यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिने व्यवस्था मिलाइएको छ । कम्पनीको संस्थापक संस्थामा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाका साविक गाउँ विकास समिति र जिल्ला विकास समितिका कर्मचारीलाई २३ करोड ९४ लाख ७३ हजार ५०० रुपैयाँ बराबरको २३ लाख ९४ हजार ७३५ कित्ता शेयर बिक्री गर्नेछ ।
रसुवागढीको शेयरमा कोषका करिब आठ लाख ६८ हजार ३९५ सञ्चयकर्ताले आवेदन दिन पाउने व्यवस्था थियो । जति संख्यामा आवेदन पर्ने अपेक्षा गरिएको थियो । त्यो अनुसार सञ्चयकर्ताले भने आवेदन नदिएको बताइएको छ । रसुवागढीको सीमित आईपीओमा सञ्चयकर्तालाई न्यूनतम ५० कित्ता र अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । आयोजनाका प्रमुख कोइरालाले भने सी–आस्बा प्रणाली लागू भएका कारण धेरै सञ्चयकर्ताले आवेदन दिन नपाए पनि उल्लेख्य आवेदन परेको बताए । रसुवामा आयोजनास्थल रहेको रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट क्षमताको हो ।
यता साञ्जेन जलविद्युत् कम्पनीको ४ अर्ब १७ करोड २२ लाख ५३ रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीका प्रमुख किरण श्रेष्ठका अनुसार १ लाख ८३ हजार २३५ जनाले आवेदन दिएका छन् । कम्पनीले सञ्चयकर्ताका लागि ७१ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको ७१ लाख १७ हजार ५०० कित्ता शेयर छुट्याएको थियो । सञ्चयकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम् ३०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । कम्पनीले रसुवामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ । सो कम्पनीको शेयरमा ७ लाख २९ हजार ७६१ सञ्चयकर्ताले आवेदन दिन पाउने व्यवस्था थियो ।
कम्पनीको संस्थापक शेयरधनी संस्थाका कर्मचारीलाई १२ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर छुट्याइएको प्रमुख श्रेष्ठले जानकारी दिए । संस्थापक संस्थाका कर्मचारीले न्यूनतम् ५० कित्ता अधिकतम ३०० कित्तासम्म आवेदन दिन सक्नेछन् । सञ्चय कोषका कर्मचारीले न्यूनतम ५० कित्ता र अधिकतम् हजार कित्तासम्म शेयरमा आवेदन दिन सक्ने छन् । उनीहरूका लागि रु. ३ करोड ६५ लाख बराबरको शेयर छुट्याइएको छ । संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीले यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । दुवै कम्पनी चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी हुन् ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार ०५:००