सूचनाको शक्ति - The Power Of Information

        

विद्यालय शिक्षाबाट वञ्चित छन् बादी समुदायका छोरी


लोकेन्द्र खनाल । रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–९ राडीकी १३ वर्षीया सुशीला बादी अहिलेसम्म एकपटक पनि विद्यालयमा पुगेकी छैनन् । आफ्ना साथीहरु अहिले ५, ६ कक्षामा पढ्छन् तर सुशीलाले भने विद्यालयको मुख नै देखेकी छैनन् । उनलाई पढ्न रहर नभएको भने होइन तर घरको आर्थिक अवस्था कमजोर भएका कारण सुशीलाले पढ्न पाएकी छैनन् ।
केही वर्ष पहिले उनका बुबाको मृत्यु भएपछि घरमा आम्दानीको स्रोत केही नभएकाले विद्यालय जान नसकेको उनको भनाइ छ । उनीजस्तै सोही ठाउँकी १० वर्षकी सरिता बादी पनि अहिलेसम्म विद्यालय गएकी छैनन् । उनलाई पनि पढ्ने रहर भएपनि घरको आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय शिक्षाबाट वञ्चित छन् । सुशीला र सरिताजस्तै यहाँका १५ घर बादी समुदायका ३४ जना छात्राले अहिले पनि विद्यालय शिक्षा लिन पाएका छैनन् ।
केहीले छोरालाई विद्यालयमा पठाउने गरे पनि छोरी भने दिनभर आफ्नै घरको र केही अर्काको काम गर्न बाध्य भएका छन् । नगरपालिका–९, राडीको छेउमा रहेको ठूलीभेरी नदी किनारमा बस्दै आएका यहाँका बादी परिवारका छोरी पढ्ने रहर हुँदाहुँदै पनि आर्थिक अभावका कारण उनीहरू पढ्ने लेख्ने मौलिक हकबाट वञ्चित छन् । कपी, कलम र विद्यालय पोशाक किन्न सक्ने अवस्था नरहेपछि आफूहरू विद्यालय जान नपाएको सुशीलाले बताइन् ।
गाउँका अन्य जातका छोरी विद्यालयमा जाँदा आफूहरुलाई पनि रहर जागेर आउने उनको भनाइ थियो । साँझ बिहानको छाक टार्न धौधौ भइरहेका बेला छोरीहरुलाई पढाउन नसकिएको सुशीलाकी आमा मनकुमारीले बताइन् । श्रीमान् हुँदा पनि छोरीलाई विद्यालय पठाउन नसकिएको भन्दै उनले श्रीमानको मृत्यु भएपछि झन ठूलो समस्या भइरहेको बताइन् । ‘बिहान के खाऊँ, बेलुकी के खाऊँ छ, अर्कैको घरमा बसेका छौँ,’ मनकुमारीले भनिन्, ‘आउने ठाउँ नै नभएपछि पेट भर्ने कि छोरीलाई विद्यालय पठाउने भन्ने समस्या छ ।’
पछिल्लो समय परम्परागत पेसा संकटमा परेका कारण पनि आफूहरू संकटमा रहेको उनले थपिन् । विद्यालय नजाने भएपछि बादी समुदायका बालबालिका नराम्रो काममा लाग्ने गरेको बताइएको छ । बालिकाहरु चोर्न जाने, ढाँँट्ने तथा नराम्रो कुलतमा फस्ने सम्भावना धेरै भएको बादी समुदायका अगुवा कलिभान बादीले बताए । परम्परागत पेशाभन्दा अर्काे पेशा गर्न सकेका केहीले भने छोराछोरीलाई विद्यालय पठाउने गरेको उनले बताए ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार ०३:४१