सूचनाको शक्ति - The Power Of Information

        

मुहान सुक्दै जाँदा खानेपानीको हाहाकार

बैतडी । बैतडीको विभिन्न ठाउँमा खानेपानीका मुहान तथा प्राकृतिक कुवा सुक्दै जान थालेपछि खानेपानीको हाहाकार भएको छ । जिल्लाको अधिकांश क्षेत्रमा खानेपानीको अभाव हुँदा स्थानीय बासिन्दा रातभर जाग्राम बसेर र घण्टौँ हिँडेर खानेपानीको जोहो गर्न बाध्य छन् । दोगडाकेदार गाउँपालिकामा पनि खानेपानीका मुहान सुक्दै जान थालेपछि पानीको हाहाकार भएको स्थानीय बासिन्दाको गुनासो छ ।
दोगडाकेदार–३ श्रीकोटको खिरेगाउँमा रहेका विभिन्न स्थानका कुवा सुक्दै जान थालेपछि पानीको हाहाकार भएको स्थानीय सुरेन्द्र भाटले जानकारी दिए । खानेपानीकै लागि भनेर रातभर जाग्राम बस्नु परेको उनले बताए । खानेपानीसमेत पाउन छोडेको छ अरू गाईवस्तु तथा सरसफाइका लागि त झनै समस्या रहेको समेत उनको भनाइ थियो । साबिकको श्रीकोट गाविस–२ विष्ट टोलमा रहेको एक मात्र कुवा पनि सुक्दा पानीका लागि निकै समस्या भएको स्थानीयवासी कृष्णसिंह विष्टले जानकारी दिए ।
गाउँमा रहेको एक मात्र कुवामा पुसको महिनादेखि नै पानी सुकेको उनले बताए । उक्त कुवाको पानी सुक्दै गाउँका बासिन्दा अन्यत्रवाट पानीको जोहो गर्न बाध्य छन् । खानेपानीका मुहान सुक्दै जान थालेपछि दोगडाकेदार गाउँपालिकाका अन्य वडामा पनि पानीको हाहाकार भएको बताइएको छ । बैतडीको सुर्नया गाउँपालिका–८ मा खानेपानीको चरम समस्या भएको स्थानीयवासीले बताए । वडा नं ८ को परीगाउँमा खानेपानीको निकै समस्या भएको स्थानीयवासी डम्मर बोहराले जानकारी दिए ।
‘तीन घण्टाको पैदलदूरीमा रहेको मुहानबाट खानेपानीको जोहो गर्नु परिरहेको छ,’ उनले भने, ‘१२ घरपरिवारको बस्ती रहेको यो ठाउँमा खानेपानीका लागि निकै सकस हुने गरेको छ ।’ सुख्खायाम शुरु भएसँगै आफूहरुले तीन घण्टा टाढा पुगेर खानेपानी बोकेर ल्याउनुपरेकाले गाईवस्तुलाई समेत पानी खुवाउन नपाएको स्थानीयवासीले बताए । मानिसकै लागि खानेपानी बोक्न नसकिने अवस्थामा गाईवस्तुका लागि पानी बोक्न असम्भव भएको स्थानीयवासीको गुनासो थियो । खानेपानीका लागि सम्बन्धित निकायमा आग्रह गरिएपनि अहिलेसम्म समस्या समाधान भएको छैन ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १०:३१