सुर्खेत । कर्णाली प्रदेशसभाको पाँच वटा बैठक सम्पन्न भइसक्दा समेत संसद् भवनले भने पूर्णता पाउन सकेको छैन । अस्थायी संसद् भवनको रुपमा प्रयोग गरिएको क्षेत्रीय सिँचाइ डिभिजन कार्यालयबाटै अहिलेसम्म संसदको काम–कारबाही सञ्चालन हुँदै आएको छ ।
गत माघ २१ गते बसेको पहिलो बैठकयता प्रदेशसभाका विभिन्न पाँच वटा बैठक भइसकेका छन् । मुख्यमन्त्री, सभामुख लगायत प्रदेशका पदाधिकारी निर्वाचित गर्नेदेखि प्रदेशको नाम र राजधानीको टुंगो लगाउने जस्ता महत्वपूर्ण निर्णय अस्थायी संसद् भवनबाट नै भए ।
स्थायी संसद् भवनको लागि प्रयोग गर्ने भनिएको शैक्षिक तालिम केन्द्रको भवन भने अझै अधुरै छ । मर्मत र सुधार लगायतका काममा ढिलाई हुँदा संसद् भवन सञ्चालनमा आउन नसकेको हो । सुरुवातमा प्रदेशसभाका सांसदहरुको सपथ ग्रहण कार्यक्रम नै शैक्षिक तालिम केन्द्रमा आयोजना गर्ने गरी तयारी गरिएको थियो ।
तर, उक्त सपथ ग्रहण कार्यक्रम अन्तिममा आएर जिल्ला समन्व्य समितिको सभाहलमा राखियो । त्यसपछि पहिलो संसद् बैठक शैक्षिक तालिम केन्द्रमा नै राख्नेगरी तयारी थालिए पनि त्यसले पूर्णता पाउन सकेन । अन्ततः संसद् बैठकका लागि आवश्यक तयारी नपुगेको भन्दै सिँचाइ डिभिजन कार्यालयलाई अस्थायी संसद् भवनको रुपमा प्रयोगमा ल्याइएको छ ।
भवन मर्मतका लागि टेन्डर आह्वान हुँदै
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतले भर्खरै मात्र उक्त भवन मर्मत–सम्भारका लागि टेन्डर आह्वान गर्ने तयारी गरेको छ । अबको एक साताभित्रै टेन्डरको प्रक्रिया पूरा गरेर भवन निर्माण तथा मर्मत–सुधारको काम अघि बढ्ने कार्यालयका इञ्जिनियर झंकबहादुर थापाले जानकारी दिए ।
संसद् भवनका लागि आवश्यक सबै काम सम्पन्न गर्ने गरी एक करोड बराबरको टेन्डर आह्वान गर्ने तयारी भइरहेको उनले बताए । ‘पर्खाल मर्मतदेखि बिजुली, कुर्ची, टेबल लगायत सबै काम एकैपटक गर्नेगरी टेन्डर आह्वान हुँदैछ,’ थापाले भने, ‘जतिसक्दो छिटो सम्पन्न गर्नेगरी काम गर्दैछौं ।’
उक्त बजेटबाटै संसद् भवनको मर्मत र सजावटको काम सम्पन्न हुने जनाइएको छ । अन्य पूर्वाधारका साथै ‘इको साउन्ड’ व्यवस्थापनका लागि समय लाग्ने कार्यालयले जनाएको छ । शैक्षिक तालिम केन्द्रको एउटै कम्पाउन्डभित्र धेरै भवन छन् । संसदीय दलका कार्यालय र सचिवालयका लागि पनि आवश्यक पर्ने थप भवन हुनुका साथै सुरक्षाको हिसाबले पनि तालिम केन्द्रलाई नै उपयुक्त भएको बताइएको छ ।
।