सूचनाको शक्ति - The Power Of Information

        

गौतम बने सेञ्चुरी बैंकको सिइओ


काठमाडौं । करिव डेढ बर्षको बिश्रामपछि तुलसीराम गौतम फेरि बैंकिङ क्षेत्रमा फर्किएका छन् । सेञ्चुरी कमर्सियल बैंकले नयाँ बर्षदेखि लागू हुनेगरी गौतमलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । गौतम चार बर्ष माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए । त्यसपछि उनी दुई बर्षभन्दा केही बढि समय खाली रहे । सेञ्चुरी बैंकले बैशाख १९ गतेबाट लागू हुनेगरी उनलाई प्रमुख कार्यकारी बनाएको हो ।
यसअघि बैंकले अनिल शाहलाई प्रमुख कार्यकारी नियुक्त गरेको थियो । तर शाह बैंक हाजिर नभई नियुक्ति खारेज गरिएको थियो । बैंक र शाहबीच तलव सुविधामा कुरा नमिलेको चर्चा चलेको थियो । तर शाहले नबिल बैंकको जागिर पाएपछि सेञ्चुरी बैंकको करार तोडेको पनि आरोप लाग्ने गरेको छ । अर्थशास्त्रमा स्नातक गौतम मार्केटिङ र फाइनान्समा एमबीएसमेत गरेका छन् । उनीसँग १० वर्ष नेपाल एसबिआइ बैंकमा काम गरेको अनुभव छ । ३६ वर्षअघि नेपाल बैंकबाट सेवा सुरु गरेका उनले तत्कालिन नेपाल इन्डोसेज बैंक छाडेर एसबिआइ गएका थिए ।
एसबिआइबाट माछुपुच्छ्रे बैंक गएका थिए । लामो कसरतपछि सेञ्चुरीले प्रमुख कार्यकारी नियुक्त गरेको हो । माछापुच्छ्रे छाडेपछि डेढ बर्ष खाली भएका उनी तीन महिना अघिमात्र इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । सेञ्चुरीले सिइओ पाए पनि केही बैंकमा ब्यवस्थापन नेतृत्वको पद अझै खाली छ । माछापुच्छ्रे, एनआइसी एसिया, मेगा, नबिल बैंक प्रमुख कार्यकारी अधिकृत बिहीन छन् । प्रमुख कार्यकारी रिक्त भएको तीन महिनाभित्र नियुक्त गरिसक्नु पर्ने नियामकीय प्रावधान छ ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार ०८:४७