काठमाडौं । दैलेख–सुर्खेत, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका ग्यास खानीहरुको अन्वेषण तथा उत्खननका लागि चिनियाँ टोली यसै महिना नेपाल आउँदैछ । यता नेपालले पनि टेकुको प्राकृतिक ग्यासको परिक्षण प्रक्रिया अघि बढाएको छ ।
खानी विभागको प्राकृतिक ग्यास शाखाका प्रमुख विजयलाल श्रेष्ठले टेकुको एउटा ग्याँस कुवामा ड्रिल गर्ने काम सम्पन्न भएको र बागमती तथा बिष्णुमती दोभानमा ड्रिल गर्नका लागि कम्पनी छनौट प्रक्रिया अघि बढेको बताए । ‘टेकुको पुरानो कुवामा ड्रिल गर्ने काम सम्पन्न भएको छ, टेकु दोभानमा ड्रिल गर्ने कम्पनी छान्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ,’ प्राकृतिक ग्यास शाखा प्रमुख श्रेष्ठले भने ।
खानी विभागले २०७३ कात्तिक ५ गते ललितपुरको इमाडोलमा रहेको कुवाबाट प्राकृतिक ग्याँस निकालेर परिक्षण गरेको थियो । सो कुवामा पाइपबाट घर घरमा पुर्याएर बाल्न मिल्ने ग्याँस रहेको तर मात्रा थोरै भएकाले व्यवसायीक उत्पादन गर्न कठिन हुने देखिएको छ । इमाडोलको परिक्षणपछि विभागले टेकुका २ वटा कुवामा परिक्षण प्रक्रिया अघि बढाएको हो ।
त्यसका लागि एउटा कुवामा ड्रिल गर्ने, मेसिन जोड्ने, ग्याँस तान्ने, ग्यास र पानी छुट्याउने तथा बाल्नेसम्मको काम गर्न करिब ५० लाख रुपैंयाँ खर्च हुने पनि श्रेष्ठले जानकारी दिए । ‘पहिले नै अध्ययन सम्पन्न गरिसकेका कुवाहरुमा अहिले ग्याँस निकालेर परिक्षण गर्दैछौं, कति मात्रा छ र व्यवसायीक उत्पादन सम्भव छ की छैन भनेर पनि हेर्छाै’, श्रेष्ठले भने । उनले आगामी २ महिनाभित्र टेकुका दुबै कुवाँमा प्राकृतिक ग्याँसको परिक्षण सम्पन्न गर्ने पनि बताए । दैलेख–सुर्खेत, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका ग्यास खानीहरुका अध्ययनका लागि चिनियाँ टोली यसै महिना नेपाल आउँदैछ ।
श्रोतका अनुसार चिन सरकारले नेपालमा पेट्रोलिमय उत्खननका लागि २ अर्ब २० करोडको बजेट विनियोजन गरेको छ । तर नेपालले भने ४ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण पठाएको छ । पेट्रोलियम नियमावली २०४१, पाँचौं संसोधन २०७४ नेपाल पत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुला भएको थियो । मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीको पाँचौं संसोधन साउन ९ गते नेपाल पत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएको हो ।
।