सूचनाको शक्ति - The Power Of Information

        

२८५ मेगावाटको माथिल्लो तमोर सानिमाले बनाउने


काठमाडौं । गैरआवासिय नेपाली सानिमा ग्रुपको लगानीमा २८५ मेगावाट क्षमताको माथिल्लो तमोर अर्धजलासययुक्त आयोजना निर्माण हुने भएको छ । सानिमा ग्रुपअन्तरगतको तमोर सानिमा इनर्जी प्राइभेट लिमिटेडमार्फत आयोजनाको निर्माण हुन लागेको हो । ऊर्जा मन्त्रालयले तमोर सानिमालाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिन तयारी थालेको छ । आयोजनाबाट सन् २०२४ को जुनमा बिजुली बाल्ने लक्ष्य लिएको छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसंग खरिद सम्झौता (पीपीए) हुने तयारीमा छ । गैरआवासिय नेपाली र नेपाली बैंकको लगानीमा आयोजना निर्माण हुने मुख्य प्रवद्र्धक सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सुवर्णदाश श्रेष्ठले बताए । उनका अनुसार पीपीए र लगानी जुटाउने काम भइरहेको छ । ‘आयोजनालाई लगानीको समस्या छैन, सहजै जुट्ने छ,’ उनले भने । आयोजनाको वातावरणीय प्रभाव मूल्याँकन (ईआईए) वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको छ ।
सरकारबाट विद्युत उत्पादन लाइसेन्स पाएपछि आयोजनाको काम अघि बढ्ने उनले जानकारी दिए । आयोजनाको उचाइ ४५० मिटर हुने छ । ५ वटा पेल्ट्रन टर्वाइनबाट बिजुली उत्पादन हुनेछ । विद्युतगृह भुमिगत हुनेछ । आयोजना ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका छ । विद्युतगृह साविकको लिङखिम गाउँमा पर्छ । आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको ढुङेसाँघुमा प्रस्तावित प्रसारणलाइनमा जोडिने छ ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार ०६:४७