सूचनाको शक्ति - The Power Of Information

        

‘काठमाडौंका आधा मानिस प्रसूतिगृहमा जन्मेका हुन्’


स्वास्थ्य संस्था आएर प्रसूति गराउनुपर्ने ज्ञानको विकास हुन थालेपछि प्रसूतिगृहमा शिशु जन्माउने महिलाहरुको संख्या बढ्दो छ । स्वास्थ्य संस्थामा शिशु र आमाको ज्यान सुरक्षित हुने भएपछि धेरै महिलाहरु शिशु जन्माउनका लागि प्रसूतिगृहमै जाने गर्छन् । मुलुकभरका स्वास्थ्य चौकीहरुमा प्रसूति सेवा सञ्चालनमा छन् । यसले गर्भवती महिलाहरु नियमित रुपमा प्रसूतिगृह गई स्वास्थ्य जाँच गराउँछन् । गर्भवतीमा अवस्थामा कम्तीमा पनि चार पटक स्वास्थ्य परीक्षण गराउन प्रसूतिगृहमा जानुपर्ने हुन्छ । नियमित स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएमा सरकारले प्रोत्साहन भत्ता दिँदै आएको छ । यसै बिषयमा केन्द्रीत रहेर काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका कार्यकारी निर्देशक डा. जागेश्वर गौतमसँग पत्रकार सञ्जय श्रेष्ठले गरेको कुराकानी :

नेपालको सबैभन्दा ठुलो स्त्रीरोग अस्पतालको अवस्था कस्तो छ ?
– सरकारी अस्पतालमा दैनिक २ सय जनाको हाराहारीमा अल्ट्रासाउण्ड हुने नेपालको एकमात्र अस्पताल हो । यहाँको प्रसुतिगृहमा बार्षिकमा १९ हजार शिशुको जन्म हुन्छ । यहाँ दैनिक सात सयको हाराहारीमा गर्भवती महिलाहरु ओपिडीमा भर्ना हुन्छन् । भूकम्पपछि हामीलाई व्यवस्थापनमा समस्या भइरहेको छ । अन्य अस्पतालहरुको तुलनामा हेर्ने हो भने यहाँको प्रसुतिगृह अत्यन्तै राम्रो र सुविधाजनक छ ।

अस्पतालमा लापर्वाहीका घटनाहरु सुनिन्छन्, यहाँ त्यो अवस्था छ कि छैन ?
– यहाँको सिस्टम अत्यन्त राम्रो छ । यहाँ लापर्वाही गर्न कसैलाई छुट छैन । प्रसुतिगृहको कर्मचारी लापरवाही गर्दैनन् र मैले दैनिक यस्ता कुराहरुको नियमन गरिरहेको छु । सबैले जिम्मेवारीपूर्ण आफ्नो काम गरिरहेका छन् । यसमा कुनै समस्या छैन । यहाँका कर्मचारीहरुले त्यस्तो काम सोच्न पाउने व्यवस्था नै गरिएको छैन र हालसम्म त्यस्ता समस्याहरु देखिएका छैनन् ।

सरकारी अस्पतालप्रति सेवाग्राहीको चाहना कम भएकै हो ?
– मलाइ त्यस्तो लाग्दैन । किनभने यस्तो हुँदो हो त यहाँ यतिधेरै बिरामी आउने थिएनन् । मलाई एउटा मात्र प्राइभेट अस्पताल देखाइदिनुस्, जहा एक बर्षमा हजारौं बिरामी जान्छन् । हाम्रोमा १९ हजार शिशुले बार्षिकरुपमा जन्म लिइरहेका छन् । यो तथ्यलाई हेर्ने हो भने हाम्रो प्रसुतिगृहमा मात्रै होइन काठमाडौंका अन्य सरकारी अस्पतालमा कति शिशुहरुको जन्म भएको होला ? सरकारी अस्पतालप्रति बिरामीको चाहना र विश्वास नीजिको भन्दा बढी भएको चै हो भन्ने लाग्छ । यदी सरकारी अस्पतालप्रतिको बुझाई र विश्वास हुँदैनथ्यो भने आधा काठमाडौंको मानिस कसरी प्रसुतिगृहमा जन्मेका होलान् ?

प्रसुतिगृहका कर्मचारीहरु त्यहाँका सामानहरु व्यक्तिगत प्रयोजनका लागि आफुले लान्छन् भन्ने आरोप लाग्छ नि ?
– यो सबै गलत हो । तपाईलाई कसैले गलत सूचना दिएको छ । यसको पछाडी नलाग्नुस् । यदि यस्तो हो भने प्रमाण दिनुस्, त्यस्तो कर्मचारीलाई तत्काल कारबाही हुन्छ । प्रमाण नभएसम्म विश्वास गर्न सकिँदैन ।

अबको प्रसुतिगृह कस्तो हुन्छ ?
– प्रसुतिगृह अब अत्याधुनीक बन्दैछ । नयाँ भवन अबको एक बर्षमा सकिन्छ । हामीले भैसेपाटीमा रहेको भवनबाट पनि सेवा दिन थाल्दैछौं । एक दुई महिनापछि स्याटलाइट सेवा सुरु गर्दैछौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्दैछौं ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार ०६:२८