सूचनाको शक्ति - The Power Of Information

        

अन्तर्राष्ट्रियस्तरमा लम्कँदै पोखरेली टेनिस यात्रा


वासुदेव पौडेल । पोखरा । पर्यटकीय नगरीका रुपमा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको पोखरामा २०२८ सालदेखि शुरु भएको टेनिस खेलको यात्राले वर्तमानमा आइपुग्दा धेरै फड्को मारिसकेको छ । पृथ्वीनारायण क्याम्पस परिसरमा पहिलोपटक २०२८ सालमा टेनिस खेलका लागि कोर्ट बनेसँगै त्यसयता पोखराले यस खेलमा थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका खेलाडी तयार गरिसकेको छ ।
पछिल्लो समयमा निजीस्तरबाट पोखरामा टेनिस कोर्ट बन्ने क्रमले गति लिएको कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थ बताउँछन् । ‘पृथ्वीनारायण क्याम्पसका संस्थापक जर्ज जोन र रञ्जित गुरुङको सक्रियतामा उक्त कोर्ट निर्माणसँगै पोखरामा टेनिस खेलले गति लिएको हो,’ उनले भने, ‘पछिल्ला समयमा भएका विभिन्न प्रतियोगितासँगै कुमार अधिकारी, अभिषेक बास्तोलाजस्ता अन्तर्राष्ट्रियस्तरमा नै आफ्नो पहिचान बनाउन सक्ने खेलाडी यहीँबाट तयार भए ।’
उनका अनुसार कुमार अधिकारी हाल टेनिस खेलमा नै संलग्न रही माल्दिभ्समा छन् भने अभिषेक बास्तोला अमेरिकामा छन् । पोखरामा भएको टेनिसको विकाससँगै राष्ट्रियस्तरमा छ/सात वर्षअघि गंगा शर्मा पहिलो नम्बरको खेलाडी बनेको जानकारी दिँदै उनले प्रदीप शर्मा चौथो नम्बर एवं अनिल शाही उत्कृष्ट १० जनामा परेको बताए । पोखरामा टेनिसको भौतिक पूर्वाधार निर्माण पनि विकासको क्रममा रहेको जानकारी दिए ।
उनले भने, ‘पोखरा रङ्गशालाभित्रको लगभग २० रोपनी क्षेत्रफलको जग्गामा हाल पाँचवटा क्ले कोर्ट बनिसकेको छ भने दुईवटा कोर्ट बन्ने तयारीमा छ ।’ अब बन्ने दुईमध्ये एउटा हार्ड कोर्ट र अर्को क्ले कोर्ट हुने कायस्थले जानकारी दिए । पोखरामा निजीस्तरबाट पनि टेनिस कोर्ट निर्माणमा धेरै लगानी भएको उनले बताए ।
निजीस्तरबाट सञ्चालित कोर्टमध्ये चाउथेस्थित बिएनबी टेनिस कोर्ट, लेकसाइडस्थित गुरुङ भिलेज टेनिस कोर्ट, तेर्सापट्टीस्थित रत्नश्री टेनिस कोर्ट, घारीपाटनस्थित पोखरा होम्स टेनिस कोर्ट यहाँका महत्वपूर्ण टेनिस कोर्ट हुन् । त्यस्तै पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनमा सशस्त्र प्रहरी बल कालिका गणमा पनि सुविधा सम्पन्न टेनिस कोर्ट रहेको छ । पोखरामा टेनिसमा राष्ट्रियस्तरमा नै प्रतिष्पर्धा गर्न सक्ने लगभग १५० जना खेलाडी छन् भने भेट्रान्सतर्फ पनि धेरै संख्यामा खेलाडी रहेका छन् ।
पोखरामा टेनिस खेलले राम्रै सफलता हासिल गर्दै अघि बढेको खेलकूद पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्ष विनोद लामिछाने बताउँछन् । ‘पछिल्ला समयमा पोखराले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी तयार गरेको छ,’ उनले भने, ‘टेनिस खेलप्रेमीले यसका गतिविधिलाई अघि बढाउन व्यक्तिगत रुपमा आफ्नो व्यावसायिक प्रतिष्ठानबाट प्रतियोगितासमेत आयोजना गर्न थालेका छन् ।’ पोखरामा आयोजना हुने गरेका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताले समग्र पोखराको गरिमा र महत्वलाई बढाएको उनले बताए ।
उनका अनुसार पोखरामा एक वर्षअघि मात्र सातौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत टेनिस खेल सम्पन्न भएको थियो भने आइटिएफको सर्किट १ र २ पोखरामा नै सम्पन्न भएको थियो । माछापुच्छ्रे पोखरा भेट्रान्स राष्ट्रिय प्रतियोगिता पोखराले सम्पन्न गरिसकेको उनले जानकारी दिए । पोखराको रमणीय वातावरणका कारण पनि यो टेनिस खेलका लागि उत्कृष्टस्थल भएको टेनिस खेलका प्रशिक्षक नीरज थापा बताउँछन् । ‘पछिल्लो समयमा पोखरामा टेनिस खेलप्रति निकै आकर्षण बढेको छ,’ विगत १५ वर्षयता टेनिसमा प्रशिक्षण दिँदै आएका थापाले भने ।
थापाले विस्तारै पूर्वाधार निर्माणको क्रम पनि बढेका कारण यहाँ टेनिसका सम्भावना अझै बढेर गएको दावी गरे । नेपालमा हुने आसन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग)लाई लक्षित गर्दै पोखरा रङ्गशाला परिसरमा रु तीन करोड ५० लाखको लागतमा एक/एक वटा हार्ड कोर्ट र क्ले कोर्ट बन्न लागेको कास्की जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।
‘पोखरा रङ्गशालाभित्र अब बन्ने हार्ड कोर्ट र क्ले कोर्ट प्याराफिटसहितका सुविधासम्पन्न पूर्वाधार युक्त हुनेछन्,’ उनले भने, ‘सन् २०१९ मा हुने सागमा खेलाइने खेलमध्ये टेनिस पनि पोखरामा खेलाउने तयारी भएका कारण निर्माण कार्य शुरु गराउन आवश्यक पहल भइरहेको छ ।’ पर्यटकीय नगरी पोखरालाई खेल पर्यटनको पनि आकर्षक गन्तव्य बनाउने सरकारको पनि प्राथमिकता रहेको अवस्थामा दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत टेनिस खेल पोखरामा गराउने चर्चाले यतिखेर पोखरेली टेनिसप्रेमी हर्षित बनेका छन् । रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार ०६:४१