काठमाडौं । सरकारको कुल ऋण ८ खर्ब ३० अर्ब ९८ करोड ३७ लाख पुगेको छ । सरकारले लिएको ऋणलाई प्रतिनेपाली भाग लगाउने हो भने एक जनाको टाउकोमा हाल २८ हजार ३६८ रुपैयाँ ऋण पुगेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा एक जना नेपालीको नाममा २१ हजार ९६४ रुपैयाँ ऋणभार थियो ।
अघिल्लो आर्थिक वर्षको पुसदेखि यस आर्थिक वर्षको पुससम्म राष्ट्रिय ऋण एक खर्ब ९६ अर्बले बढेका कारण हाल प्रतिव्यक्ति नेपालीलाई ६ हजार चार सयले ऋण भार थपिएको हो । सरकारले वैदेशिक र आन्तरिक ऋण दिएको रकमलाई केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको नेपाली जनसंख्याको आधारमा सो हिसाब निकालिएको हो ।
सन् २०१८ मा नेपालको कुल जनसंख्या २ करोड ९२ लाख ९१ हजार ७४६ जना रहने अनुमान विभागले गरेको छ । गत वर्ष सन् २०१७ मा नेपालको कुल जनसंख्या दुई करोड ८८ लाख ७९ हजार ६३६ जना रहने विभागको तथ्यांक छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष चालू आवको समीक्षा अवधिमा सरकारले लिएको ऋणमध्ये ४ खर्ब ३६ अर्ब ४८ करोड वैदेशिक ऋण हो ।
सरकारले विकास ऋणपत्र, राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्र, ट्रजरी बिल, वैदेशिक रोजगारपत्र मार्फत एक वर्षको अवधिमा तीन खर्ब ९४ अर्ब ४९ करोड आन्तरिक ऋण उठाएको छ । पुस मसान्तसम्म तीन खर्ब ९५ अर्ब २९ करोड बहुपक्षीय वैदेशिक ऋण र ४१ अर्ब १९ करोड द्विपक्षीय ऋण रहेको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले बताए ।
गत आवमा सरकारले लिएको ऋणमध्ये ४ खर्ब १ अर्ब ९८ करोड वैदेशिक ऋण हो भने २ खर्ब ३२ अर्ब ३२ करोड आन्तरिक ऋण हो । गत वर्ष लिएको ऋणमध्ये ३ खर्ब ६४ अर्ब बहुपक्षीय र ३७ अर्ब ९४ करोड द्विपक्षीय ऋण हो । सरकारले गएको आर्थिक वर्षमै प्रतिव्यक्ति कुल तिर्न बाँकी ऋणको भार घट्ने अनुमान गरे पनि साँवा–ब्याज भुक्तानीको तुलनामा बढी ऋण लिएपछि नेपालीको टाउकोमा ऋण भार थप भएको हो ।
अझ आगामी वर्ष खर्चका स्रोतहरू बढेकाले यो ऋण अझै बढ्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ । सरकारले आगामी आवका लागि आन्तरिक र बाह्य दुवै ऋण बढाउने तयारी गरेको छ । सरकारले चालू आवको लागि २ खर्ब १४ अर्ब वैदेशिक ऋण लिने योजना बनाएको छ । आगामी वर्ष यो ऋण अंकमा ६५ अर्ब रुपैयाँले थपेर २ खर्ब ८० अर्ब वैदेशिक ऋण उठाउने गृहकार्य गर्दैछ । त्यसरी नै हालको १ खर्ब ४५ अर्ब आन्तरिक ऋणमा पनि ८ अर्ब थपेर एक खर्ब ५३ अर्ब आन्तरिक ऋण उठाउने सरकारको लक्ष्य लिएको छ ।
।