सूचनाको शक्ति - The Power Of Information

        

निर्माणाधीन जामुघाट पुल सुर्खेत पश्चिमको समृद्धि


सुर्खेत । पञ्चपुरी नगरपालिकाको जामुघाट भेरी नदीमा निर्माणाधीन पुललाई पश्चिम सुर्खेतको समृद्धिका रुपमा हेरिएको छ । हजारौँ जनताको रोजीरोटी खोस्ने र सयौँलाई घरबारविहीन बनाउने भेरी नदीमाथि २०७२ साल जेठबाट पक्की पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।
पुल निर्माणको जिम्मा अनक–लुम्बिनी–हिङ्दुङ् जेभीले लिएको छ । रु. ३६ करोड लगानीमा बन्न लागेको पुलको ७५ प्रतिशत काम पुरा भएको साइट इञ्चार्ज दिनेश श्रेष्ठले जानकारी दिए । पुल निर्माण भइरहेकाले हालसम्म त्यस क्षेत्रका नागरिकले तुइन र काठको डुंगाबाट आवातजावत गरिरहेका छन् ।
‘सधैँ कहालिलाग्दो यात्राबाट भेरी नदी पार गरिरहेका छौँ । अब भने केही महिनापछि निर्माणाधीन पुलबाटै आवतजावत गर्ने खुशी सँगालेर बसेका छौँ,’ पञ्चपुरी नगरपालिका–५ तिखाकुना गाउँका स्थानीयवासी विनोद देवकाटाले भने ।
वर्षेनी पञ्चपुरी नगरपालिका–१० को गल्फगाउँ र ५ को तिखाकुना गाउँको दुःख बन्दै आएको भेरी नदीले आफ्ना आसापासका बस्तीलाई बगरमा परिणत गर्ने गरेको सो नगरपालिकाका स्थानीय समाजसेवी खड्ग बाँसपानीले जानकारी दिए ।
‘निर्माणाधीन पुल बनेपछि गल्फ र तिखाकुना गाउँलाई मात्र जोड्ने छैन, यो उत्तरमा अछामको तुर्माखाँद हुँदै कर्णाली राजमार्ग जोड्ने हाई फास्ट ट्रयाक बन्नेछ,’ उनले भने । निर्माणाधीन पुलले उत्तरका साथै दक्षिणमा महेन्द्र राजमार्गसँग जोड्न पनि सघाउ पु¥याउने भएकाले पुल निर्माणबाट पश्चिम सुर्खेतको समृद्धिको ढोका खोल्ने उनको भनाइ छ । चार वर्ष निर्माण अवधि तोकिएको पुलको लम्बाइ ३५१ मिटर रहेको साइट इञ्चार्ज श्रेष्ठले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार ०४:३६