सूचनाको शक्ति - The Power Of Information

        

उत्पादन क्षमता बढाउँदै उदयपुर सिमेन्ट


उदयपुर । नेपाल सरकारको स्वामित्वको रहेको देशकै ठुलो उद्योग मानिने उदयपुर सिमेन्ट उद्योगले २५ वर्षपछि उत्पादन क्षमता दोब्बर बनाउन लागेको छ । उद्योग स्थापना भएको २५ वर्षपछि दैनिक उत्पादन गर्ने ८ सय मेट्रिकटन उत्पादन गर्दै आएको उद्योगको क्षमता एक हजार ८ सय मेट्रिकटन बनाउन लागिएको हो ।
उद्योगका महाप्रवन्धक सुरेन्द्रकुमार पौडेलले उद्योगको क्षमता ८ सय मेट्रिकटनबाट एक हजार ८ सय मेट्रिकटन बनाउन लागिएको बताए । ‘आगामी ४ वर्षभित्र सरकारको ऋण तिर्ने कार्ययोजनासहित क्षमता दोब्बर बनाउन ऋण मागेका छौं,’ महाप्रबन्धक पौडेलले भने, ‘औद्योगिक क्षेत्रका विभिन्न विज्ञको टोली बोलाएर परामर्श गरी ऋण माग गरेको हौ ।’
उद्योगले सरकार समक्ष दुई अर्ब १२ करोड ऋण सहयोग माग गरेको छ । उद्योका लेखा शाखा प्रमुख कमल पौडेलले उद्योगको उत्पादन क्षमता दोब्बर बनाउन नेपाल सकारलाई ऋणको लागि प्रपोजल पठाएको बताए । पौडेलले भने, ‘यो सरकारी उद्योगले पछिल्लो समयमा आशा जगाएको छ, क्षमता दोब्बर बढाउन आवश्यक छ ।’
नेपाल सरकारले दुई अर्व १२ करोड ऋण अनुदना पाए ८ सय मेट्रिकटन उत्पादन क्षमता रहेको उदयपुर सिमेन्ट उद्योग एक हजार ८ सय अर्थात १८०० को हुनेछ । लेखा शाखा प्रमुख पौडेलका अनुसार उद्योग स्थापना गर्दा नेपाल सरकारलाई उदयपुर सिमेन्टले ६ अर्व ५५ करोड ६२ लाख तिर्नुपर्ने थियो । ‘उद्योगले सरकारलाई तिर्ने पैसा अब १ अर्ब ७२ करोड मात्र छ,’ उनले भने, ‘४ अर्ब ८३ करोड ६२ लाख तिरिसकेको छ ।’


उद्योगमा हाल भएको मौजुदा प्राविधिक जनशक्ति र भएकै पान्टलाई नै उपयोग गरेर चार महिनाको अवधिमा दैनिक ८ सय मेट्रिकटनबाट बढाएर १८ सय मेट्रिकटनमा बनाउन तयारी थालिएको छ । उद्योगले पछिल्लो एक बर्षयता सोचेभन्दा बढि उत्पादन र मुनाफा दिन थालेसँगै व्यवस्थापन पक्षले यसको क्षमता विस्तारको योजना ल्याएको हो ।
उद्योगमा हुने राजनीतिक नियुक्ती, मजदुर आन्दोलन र कर्मचारीको चलखेलले घट्दै गएकाले क्षमता दोब्बर बनाउन सरकारसँग ऋण माग गरिएको सूचना अधिकारी तथा नायव महाप्रबन्धक नवलकिशोर साहले बताए । मुलुककै उत्कृष्ट उद्योगकोरुपमा उदयपुर सिमेन्टलाई स्थापति गर्न यस्तो योजना अघि सारिएको साहले बताए । दैनिक ८ सय मेट्रिकटन सिमेन्ट उत्पादन गर्नसक्ने क्षमता रहेको उद्योगले पछिल्लो समय दैनिक ७८० मेट्रिकटनसम्म उत्पादन गर्दै आएको छ ।
२०४४ सालमा स्थापना भएको उद्योगले २०४९ साल मङ्सिर महिनाबाट उत्पादन गर्न सुरु गरेको थियो । ७ करोड ३० लाख मेट्रिकटन चुनढुगांको खानी भण्डारण रहेको उद्योगले झण्डै २५ बर्षको हाराहारीमा ४० लाख मेट्रिकटन मात्र चुनढुङ्गा खपत गर्न सकेको नायव महाप्रबन्धक तथा प्लाण्ट महाशाखा प्रमुख साहले बताए ।
‘अन्य सिमेन्टका चुनढुंगाभन्दा उदयपुरको सिमेन्टको चुनढुंगा राम्रो र धेरै छ,’ साहले भने, ‘त्यसलाई खपत गर्नको लागि पनि उत्पादन क्षमता विस्तार गर्न जरुरी रहेको छ, सरकारसँग प्रपोजल पेश गरेका छौ ।’ उनले अझै ६ करोड ९० लाख मेट्रिकटनको चुनढुङ्गाको ठूलो पहाड बाँकी रहेको बताए ।
‘यहाँको चुनढुंगा सदुपयोग गर्न सरकारी तवरबाट सहयोग हुनुपर्दछ,’ नायव महाप्रबन्धक साहले थप्दै भने, ‘क्षमता विस्तारको योजना सफल हुनसाथ मुलुकको ६५ प्रतिशत सिमेन्टको मागलाई सहजै आपूर्ति गराउन सकिन्छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतवार ०३:४८