सूचनाको शक्ति - The Power Of Information

        

प्रदेशसभाको बैठक भोली, मुख्यमन्त्रीले विश्वासको मत लिँदै


रेनुका गिरी । बुटवल । प्रदेश नम्बर ५ मा भोली आइतबार बस्ने प्रदेश नं. ५ को प्रदेशसभा बैठकको तयारी पुरा भएको छ । भोली नै सरकारका तर्फबाट प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले विश्वासको मत लिनेछन् । नियुक्त भएको ३० दिनभित्र संसदबाट बिश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान रहेको छ । प्रदेश सांसदलाई सरकारले विजनेस दिने र त्यसैका आधारमा सरकारले कानुन निर्माण गर्दै आफ्नो संकल्प पुरा गर्न बैठक केन्द्रित हुनेछ ।
मन्त्री परिषदको बैठकमा प्रदेश आर्थिक कार्यविधि, स्थानीय तहका पदाधिकारीको सुबिधा सम्बन्धी बिधयक पेश गर्ने भएको प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । प्रदेश नम्बर पाँचमा वाम गठबन्धनको स्पष्ट बहुमत रहेको छ । शुक्रबार अपरान्ह बसेको कार्य ब्यवस्था समितिको बैठकले प्रदेशसभाको भोलीको बैठकमा विधयेक पेश हुने र अध्ययनको लागि सांसदहरुलाई उपलव्ध गराइने निर्णय गरेको हो ।
साथै बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने र ती विधेयकसहित अर्को मस्यौदासमेत सांसदहरुलाई छलफलका लागि उपलब्ध गराउने गरी तालिका तय भएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । भोली आइतबार बैठक बसेपछि अर्को बैठक चैत्र ४ गते तोकिनेछ । आइतबार बस्ने संसद बैठकमा आर्थिक कार्यविधि ऐन, स्थानीय तहका सेवा सुविधा सम्बन्धी विधेयक प्रस्तुत गरिनेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार ०३:२९