सूचनाको शक्ति - The Power Of Information

        

विश्वकै सफल प्राकृतिक उपचार पद्धति ‘स्पा’


स्पाको विकास करिव करिव १५ वर्षको छ । १० वर्षको अवधिमा स्पाले राम्रो प्रभाव राखेको छ । काठमाडौंमा नाम चलेका हस्पिटलले पनि स्पालाई विभागको रुपमा छुट्टै संचालन गरेका छन् । स्पा के हो ? यो किन आवश्यक छ ? यस विषयमा स्पा क्षेत्रमा १५ वर्ष विताई दुई वर्षअघि आफै सुस्वास्थ्य हस्पिटल सञ्चालन गरी स्पाको सेवा गरिरहेका सुस्वास्थ्य हस्पिटलको संचालक तथा प्रमुख अकुपञ्चर विज्ञ सुदर्शन बस्नेतसँग पत्रकार सञ्जय श्रेष्ठले गरेको कुराकानी :

स्पा भनेको के हो ?
– स्पा भनेको पहिले पातिबाट उपचार गरिने पद्धतिको रुपमा बुझिन्थ्यो, अहिले स्पाको परिभाषा पञ्च ज्ञानेन्द्रियको सन्तुष्टी हुने ठाउँ नै स्पा हो । पहिले स्पा थेरापीको रुपमा विकसित भएको थियो । तर अहिले अन्तर्राष्ट्रिय स्पा संगठनले ‘जुन ठाउँमा जाँदा वा रहँदा पञ्च ज्ञानेन्द्रियले सन्तुष्टि प्राप्त गर्दछ त्यस ठाउँलाई स्पा भनिन्छ’ भनेर परिभाषित गरेको छ । स्पाको फरक फरक पार्ट छन् । जस्तै: होटल स्पा, क्रुज स्पा, मेडी स्पा, प्राकृतिक स्पा, रिसोर्ट स्पा, क्लव स्पा, डिष्टिनेशन स्पा आदि हुन्छन् । सुस्वास्थ्य हस्पिटलको कुरा गर्नुहुन्छ भने यो नेचुरल स्पाभित्र पर्दछ । स्पामा नसर्ने रोगको थेरापी गरिन्छ । विशेषगरी स्पामा आत्मवल र नैतिकवल बढाउनका लागि स्पा थेरापी गरिन्छ ।

नेपालमा स्पाको शुरुवात कहिले भयो ? कति प्रकारको स्पा सञ्चालनमा छन् ?
– विश्व परिवेषमा स्पा थेरापी पातीबाट उपचार गर्ने पद्धतिको चाहिँ धेरै पहिले भएको पाइन्छ । फिनल्याण्ड र थाइल्याण्डतिर यसको धेरै विकास भएको छ । स्पा विश्व परिवेषमा पनि २०–२५ वर्षको मात्र इतिहास छ । नेपालमा स्पाको शुरुवात करिव करिव १५ वर्षको छ, तर १० वर्षको अवधिमा यसको धेरै विकास भएको छ । नेपालमा मेडी स्पा, डे स्पा, क्लव स्पाको विकास भएको छ तथा संचालनमा छ ।

स्पाको अवस्था नेपाल वा अन्तर्राष्ट्रमा कस्तो छ ?
– स्पाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा यसको इतिहास छोटो भएपनि छिट्टै नै यसले आवश्यकता पुरा गर्न सकेको छ । स्पामा गरिने उपचार भनेको हामीले परापूर्वकालदेखिको संस्कृति हो । यसलाई व्यवस्थित गरिएको मात्र हो । जबकी हामी जन्मिने वित्तिकै हामी मसाज गर्दछौं । स्पा मेडिकल साइन्सको परिपुरक हो । अहिले नेपालको अवस्थामा भन्ने हो भने ग्राण्डी, नर्भिक लगायतका हस्पिटलले समेत विभाग बनाएर संचालनमा राखेका छन् । मेडिकल साइन्सको परिपूरककै रुपमा विकास भएको छ ।

नेपालमा स्पाको लागि दक्ष जनशक्ति कस्ता छन् ? कसरी उत्पादन गर्दछन् ?
– नेपालमा स्पा केलाई भन्ने परिभाषा नै छैन । यहाँ जस्ले जसरी पनि संचालन गरिरहेका छन् । स्पाको लागि खाली ट्रेनिङ्ग मात्र छ । त्यस्तो लाइसेन्स वा सर्टिफिकेटको व्यवस्था छैन । सबै थेरापिष्टहरुले ५–६ महिनाको ट्रेनिङ्ग लिएका हुन्छन् । मेडी स्पामा चिकित्सकसँग सल्लाह गरेर मात्र गरेको हुन्छ । सुस्वास्थ्य हस्पिटलमा फिजियो थेरापिष्ट, अक्कुपञ्चर, नेचुरलप्याथिक डाक्टरहरुको सल्लाहमा गरिन्छ । स्पाको खासै अनुसन्धान पनि छैन । कुनै संस्था वा निकायले यसलाई हेर्ने व्यवस्था आजसम्म छैन ।

नेपालमा स्पाको समस्या के छ ? स्पाको विकास कसरी गर्न सकिन्छ ?
– नेपालमा स्पाको अध्ययन तथा अनुसन्धान खासै छैन । त्यसमा पनि स्पाभित्रकै साथीहरु विच पनि मत फरक छन् । सबै स्पा सञ्चालकहरु नै स्पाप्रति पूर्व दक्ष र विश्वस्त छैन । सबै संचालकहरु आ–आफ्नै कुरामा अडिक छन् । विश्वमा नै स्पाको दुई वटा मान्यता छ, एक मेडिकल स्पा र अर्को मेडिकल विनाको स्पा यसमै साथीहरुको आ–आफ्नो इच्छा छ । नेपालको सन्दर्भमा मात्र हैन विश्वमा नै स्पाको लागी दक्ष जनक्तिको आवश्यक ठूलो छ । हामीले स्पामा केही लगानी गर्न सकेको खण्डमा हामी धेरै छिटो स्पाको विकास गर्न सक्छौं । स्पा स्कूलहरुको जरुरत छ ।

सुस्वास्थ्य हस्पिटलमा अरुको भन्दा के फरक छ ?
– सुस्वास्थ्य हस्पिटलमा कम्वाइन्ड उपचार हुन्छ । यहाँ विरामी र डाक्टरको सम्वन्ध एकदमै नजिक वा पारिवारिक छ । सुस्वास्थ्यमा बस्ने रुमहरु पनि आफ्नै घरमा जस्तो छ । हाम्रोमा सबै किसिमका विरामीले उपचार गर्न सकिन्छ । यहाँ सबै किसिमको सेवा उपलब्ध छ । सुस्वास्थ्यमा ८० प्रतिशत भन्दा बढी कम्मर र गर्धनको नसा च्यापिएको विरामीले उपचार गर्दछन् । अहिलेको अवस्थामा सुस्वास्थ्यमा सन्तुष्ट छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार ११:०७